एजेन्सी– अस्ट्रेलियाको राजधानी क्यानबेराको दक्षिण क्षेत्रमा आगलागी बढेपछि आपतकाल घोषणा गरिएको छ। क्यानबेरामा विगत दुई दशकयताकै सबभन्दा खतरापूर्ण आगलागी भएको अधिकारीहरुले बताएका छन्।
दक्षिण क्यानबेरामा १८ हजार ५०० हेक्टरभन्दा बढी क्षेत्रमा आगो फैलिइसकेको छ भने स्थानीयलाई सम्भावित निकासका लागि सतर्क रहन आग्रह गरेका छन्। अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) मा अहिलेसम्मकै बढी आगलागीको खतरा देखिएको छ। यसअघि सन् २००३ मा भएको आगलागीले पनि ठूलो विनाश गरेको थियो, मुख्यमन्त्री एन्ड्रियु बारले शुक्रबार भने। उनले भने, बुसफायर त्रासभन्दा ठूलो एसीटी सरकारलाई अरु कुनै उच्च प्राथमिता छैन।
सिड्नी र मेलबर्नको बीचमा रहेको उक्त भू-भागमा करिब चार लाख मानिसहरु बसोबास गर्छन्। सन् २००३ मा भएको आगलागीमा चारजनाको मृत्यु भएको थियो भने ५०० घाइते भएका थिए। त्यसैगरी ४७० घरहरु जलेका थिए। मुख्यमन्त्री बारले आगलागी नियन्त्रण बाहिर हुनसक्ने समेत बताएका छन्। अहिले त्यहाँको तापक्रम ४० डिग्री सेल्सियस छ। बीबीसी