एजेन्सी– टोकियो जापानका सुसी व्यवसायी कियोसी किमुराले टोकियोमा खुलेको नयाँ माछा बजारबाट एउटा विशाल टुना माछा किने। उनले त्यो माछाका लागि ३१ लाख अमेरिकी डलर अर्थात ३४ करोड ७२ लाख नेपाली रुपैयाँ तिरे।
जापानमा एउटै माछाको यो अहिलेसम्मकै सबैभन्दा बढी मूल्य हो। वजनका हिसाबले यसको मूल्य प्रतिकेजी १२ लाख ४९ हजार रुपैयाँजति पर्न जान्छ। अघिल्लो वर्ष विश्वप्रसिद्ध चुकिजी माछा बजारमा सर्वाधिक बढी मूल्यमा किनबेच भएको थियो।
नयाँ वर्षको अवसरसँगै खुलेको नयाँ माछा बजारमा लिलाम बढाबढ हुँदा एउटै टुना माछा ३१ लाख डलरमा बिक्री भएको हो। यो माछा २ सय ७८ किलोको थियो। विश्वमै लोपोन्मुख प्रजातिको मानिने यो माछा जापानको उत्तरी तटीय सामुद्रिक क्षेत्रमा समातिएको थियो।
‘टुना किङ को नामबाट आफूलाई चिनाउने कियोसीले सबैभन्दा बढी बोलकबोल गरेका थिए। यसअघि सन् २०१३ मा पनि कियोसीले नै टुनाको सबैभन्दा बढी मूल्य कबोल गरेका थिए। ‘यो सबैभन्दा उत्तम टुना हो। म आज अति स्वादिलो, ताजा टुना किन्न सफल भएको छु,’ जापानमा सुसी रेस्टुरेन्ट चलाइरहेका कियोसीले गर्वसाथ भने। ‘पहिले सोचेभन्दा यसपटक टुनाको मूल्य बढी हो, तर हाम्रा ग्राहकले सर्वोत्तम टुनाको स्वाद लिन पाउनेछन्’ उनले बताए।