पोखरा– स्याङ्जाको आँधीखोला गाउँपालिका–१ स्थित पञ्चमूलमा रु रु १० लाखमा ब्राह्मण समुदायको इतिहास, परम्परा र संस्कृति झल्किने सङ्ग्रहालय निर्माण गरिने भएको छ।
पर्यटकीय गाउँ सिरुबारीको निकटमा अवस्थित उक्त स्थानमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको रु पाँच लाख र स्थानीय बासिन्दाको रु पाँच लाख जनसहभागिता परिचालन गरी सङ्ग्रहालय बनाउन लागिएको हो। सङ्ग्रहालयमा ब्राह्मण जातिका कला, संस्कृति भल्किने वेषभूषा, गरगहना, परम्परागतरुपमा उनीहरुले प्रयोग गर्ने कृषि उपकरणसहित माटो, काठ, फलाम, पराल र चोयालगायतका विभिन्न घरयासी सामग्री प्रदर्शन गरिने छन्।
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले एक समारोहका बीच सो सङ्ग्रहालयको शिलान्यास गर्दै मलुकका सम्पूर्ण जातजातीका कला संस्कृति जगेर्ना गर्नु आजको आवश्यकता भएको बताएका छन्। प्राचीन सभ्यतालाई जीवन्त राख्ने यस्ता सङ्ग्रहालयले मुलुकको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने उल्लेख गर्दै उनले पछिल्लो समय सङ्ग्रहालय अध्ययन अवलोकन गर्ने पर्यटकको सङ्ख्यामा वृद्धि भएको चर्चा गरे।
संविधानसभाका सदस्य प्रा डा गणेशमान गुरुङ र गण्डकी प्रदेशसभा सदस्य मीनप्रसाद गुरुङले ब्राह्मण सङ्ग्रहालय पर्यटकको एक गन्तव्यस्थल बन्ने विश्वास व्यक्त गरे। ब्राह्मण जातिको मौलिककला संस्कृति जोगाउने अभियानका साथ सामुदायिक सङ्ग्रहालय निर्माण गर्न लागिएको सङ्ग्रहालय व्यवस्थापन समितिका अध्यक्ष छमप्रसाद ढकालले जानकारी दिएका छन्। सङ्ग्रहालय पाँच रोपनी जग्गामा निर्माण गरिन लागिएको हो। (रासस)