एजेन्सी–आफ्नो परिवारसँग नेपाल घुम्न आउने तयारीमा रहेका भारतीय टिभी जगतका चर्चित कलाकार करणवीर बोहरालाई दिल्ली एयरपोर्टमा नै रोकिएको थियो। तर उनी अन्ततः नेपाल आएरै छाडेका छन्।
उनलाई बिहीबार नेपाल प्रस्थान गर्ने क्रममा आवश्यक ट्राभल डकुमेन्ट नभएको भन्दै नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएको थियो। शुक्रबार आवश्यक डकुमेन्ट देखाएर उनी काठमाडौँ आएका हुन्। काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेलगत्तै उनले आफ्नो ट्वीटरमार्फत आफ्नो फोटोसमेत राख्दै काठमाडौँ आइपुगेको जानकारी दिएका छन्।
बिहीबार उनले दिल्लीबाट काठमाडौँका लागि एयर इन्डिया विमानको टिकट लिएका थिए। हवाई मार्गबाट नेपाल जानका लागि राहदानी आवश्यक पर्ने भए करणवीरले आधारकार्ड देखाएर नेपालतर्फ प्रस्थान गर्न चाहेका भए पनि विमानकर्मीले उनलाई ‘बोर्डिङ पास’ नदिएपछि उनी दिल्लीमै रोकिएका थिए।
करणवीरले मुम्बईस्थित आफ्ना एक मित्रलाई भनेर दिल्लीसम्म आफ्नो राहदानी मगाएका थिए। राहदानी पाएपछि उनी शुक्रबार नेपालका लागि उडेका थिए। उनी नेपालमा छायांकनको सिलसिलामा केही दिन रहने जनाइएको छ।