एजेन्सी– क्याटलान क्लब बार्सिलोनाले अप्रत्यासित रुपमा कंगोका फरवार्ड सेड्रिक बकम्बुको अनुबन्धलाई लत्याएको छ। बकम्बुलाई बार्सिलोनाले लोनमा अनुबन्ध गर्ने पक्का भएसँगै प्रशिक्षण क्याम्पमा दक्षिण कोरियामा रहेका उनी मेडिकल र सम्झौताका लागि स्पेन उडिसकेका थिए।
तर, क्लबका स्पोर्टिङ डाइरेक्टर एरिक अबिडालले फोनमार्फत उनको सम्झौता रद्ध भएको बताए। जतिबेला उनी दक्षिण कोरियाबाट हङकङ ट्रान्जिट पुगेका थिए। २८ वर्षीय बकम्बु अहिले चिनियाँ लिग क्लब बेइजिङ गुओनबाट खेलिरहेका छन्। चीनमा कोरोना भाइरसको सक्रमण बढेपछि चिनिया लिग स्थगित गरिएको छ। सोही कारण बेइजिङले दक्षिण कोरियामा प्रशिक्षण गरिहेका छन्।
बार्सिलोना चोटका कारण टोली बाहिर रहेका उरुग्वेका फरवार्ड लुइस सुआरेजको विकल्पको खोजीमा छ। सुआरेजेको विकल्पमा बकम्बु अनुबन्ध गर्न चिनिया क्लब बेइजिङ र बार्सिलोनाबीच उनको सम्झौताबारे सहमति भइसकेको थियो।
मेडिकल सफल भएको भए विन्टर सिजनको डेडलाइन डे मा उनी बार्सिलोना पुग्ने थिए। किके सेटिनको टोली बार्सिलोनामा जान इच्छुक बकम्बु स्पोर्टिङ डाइरेक्टर एरिक अबिडालको फोनसँगै बार्सिलोना जाने सपना भताभुङ्ग हुन पुग्यो।
बार्साले क्लब ब्रागाका २० वर्षे फरवार्ड फ्रान्सिस्को ट्राइन्कोलाई २६.१ मिलियन पाउन्डमा अनुबन्ध गरेपनि उनले अर्काे समरसम्म कुर्नुपर्न भएको छ। फ्रान्सिस्को २०२५ को सिजनसम्म बार्सिलोनामा हुनेछन्।
बार्सिलोनामा अनुबन्ध हुन असफल भएसँगै बकम्बुले सामाजिक सन्जाल ट्वीटरमा ट्रान्सफर मार्केट र बार्सिलोनाको ट्वीटर ह्यान्डललाई मेन्सन गर्दै आफ्नो स्थानान्तरण परिवर्तन गर्न र जे भएपनि प्रक्रियामा विश्वास लाग्ने बताउदै सबै चीजको लागि भगवानलाई धन्यवाद दिन चहान्छौं भनेका छन्। उनले एन्टोइन ग्रिजमनलाई मेन्सन गर्दै कुनै समयमा सँगै खेल्न सक्ने बताएका छन्।
सोयाक्सबाट व्यवसायिक खेल करियर शुरु गरेका बकम्बुले बर्सास्पर र त्यसपछि २०१५ देखि १८ सम्म स्पेनिस क्लब भिल्लारियालबाट खेलेको थिए। २०१८ पछि बकम्बु चिनिया क्लबमा पुगेका थिए। उनले यो सिजन बेइजिङका लागि २६ खेलमा १६ गोल गर्दै ७ असिस्ट दिएका छन्।