बलेवा– हात्तीपाइले रोग निवारणका लागि गरिएको दशकदेखिको प्रयास असफल भएपछि स्वास्थ्य कार्यालय बागलुङले फेरि अभियान चलाउने भएको छ। बागलुङको नारायणस्थानमा बढ्दो दरमा हात्तीपाइलेको सङ्क्रमण देखिएपछि कार्यालयले जिल्लाभरिका नागरिकलाइ औषधि खुवाउने तयारी गरेको हो।
क्युलेस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको निवारण हुन एक प्रतिशतमा आइपुग्नु पर्छ तर नारायणस्थानमा केही वर्षअघि तीन प्रतिशत रहेकामा घटेर दुई दशमलब तीन प्रतिशत पुगेको थियो। गत वर्षदेखि फेरि बढेर झण्डै पाँच प्रतिशतमा उक्लेपछि औषधि खुवाउने काम गर्नु परेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताएका छन्।
नेपालका ६३ वटा जिल्ला जोखिमको भेटिएकाले दुई करोड ५० लाख नागरिकलाई औषधि खुवाउनुपर्ने अवस्था भएको हो। माघ २५ गतेदेखि अभियान सञ्चालन गरिने तयारी गरिएको कार्यालयका हात्तीपाइले रोगसम्बन्धी फोकल पर्सन यम बरालले बताएका छन्। विश्वका केही देशमा निवारण भएपछि धेरैजसो देशमा अझै जनस्वास्थ्य समस्याका रुपमा रहेको छ।
त्यसैले विश्वका ७१ मुलुकमध्ये ५० देशमा यो औषधि खुवाउने काम भइरहेको छ। लामखुट्टेले सक्रमितलाई टोकेपछि सार्ने भएकाले जोसुकै मानिस सङ्क्रमको जोखिममा रहन्छन्। तत्काल लक्षण नदेखिने भएकाले लामो समयपछि मात्र थाहा हुन्छ। हात, खुट्टा सुनिने, शरीरका जुनसुकै स्थानमा सङ्क्रमण देखिने, अण्डकोशहरु सुनिएर हाइड्रोसिल हुने जस्ता समस्या यो रोगमा हुने गर्छ।
औषधि खाएपछि कम्तीमा एक वर्षका लागि सर्ने समस्या नहुने भएकाले निवारणको अवस्थामा लैजान पहल गरिएको बरालले बताएका छन्। कार्यालयले अभियानको सफलताका लागि सञ्चारमाध्यम र पत्रकारको सहकार्य पनि बढाएको छ। यो अभियानमा साथ दिन सबैलाई आग्रह गरिएको छ।
औषधि खुवाउने काममा कार्यालयले स्वास्थ्यकर्मी नै खटाउनेछ। पहिलो दिनमा तोकिएका खोप केन्द्रमा र दोस्रो दिनदेखि खोजी गरेर सबै नागरिकलाई औषधि खुवाउने कार्यक्रम राखिएको छ। (रासस)