म्याग्दी– अन्नपूर्ण हिमालको पश्चिम फेदीमा बाटो बिराएर हिउँ जमेको स्थानमा फसेका ४ जना नेपाली पर्यटकको आइतबार बिहान उद्धार गरिएको छ। ३ हजार ८ सय मिटर उचाइमा अवस्थित खोप्राबाट तल नारच्याङ्ग गाउँ झर्ने क्रममा हिउँसहितको जंगलमा फसेका उनीहरुलाई खोजी तथा उद्धारमा चुपिन पुर्जासमेतका स्थानीयले आज तेस्रो दिन सकुशल उद्धार गरेका हुन्।
सर्लाहीका अंकित साह, सर्लाहीकै अभिषेक महतो, दोलखाका सञ्जित लामा र धनगढीका सुमन भट्टलाई अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ्गको रेलेखर्कको खोंचबाट उद्धार गरिएको हो।
प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले उद्धार गरिएका मध्ये दुई जनालाई उपचारका लागि हेलिकोप्टरमार्फत पोखरा पाठाइएको र बाँकी दुई जनालाई आफूहरुसँगै गाडीमा राखेर नारच्याङ झरेको बताए।
शुक्रबार उनीहरुसँग फोनमा कुराकानी भए पनि भेट्टाउन सकिएको थिएन। फोनको लोकेसनको आधारमा रेलेखोलाको माथिल्लो भागको रेलेखर्क क्षेत्रमा खोजी केन्द्रित गरिएको थियो।