काठमाडौं– सरकारले चीनमा देखिएको कोरोना भाइरसले नेपालको पर्यटन क्षेत्रमा पार्नसक्ने प्रभावलाई मध्यनजर गरी बैकल्पिक पर्यटन बजारको खोजी गर्ने भएको छ। प्रमुख पर्यटकीय स्रोत बजारका रूपमा रहेको चीनमा फैलिएको कोरोना भाइरसले नेपालको पर्यटन क्षेत्रमा प्रभाव पार्ने सम्भावित जोखिम नियन्त्रण र वैकल्पिक पर्यटन बजारको खोजी गर्न लागिएको हो।
कोरोनाको प्रभावका कारण चीनबाट नेपाल आउने पर्यटकको कमीलाई पूर्ति गर्न अन्य गन्तब्य बजारको खोजी गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एउटा समिति गठन गरी काम अघि बढाएको छ। उक्त प्रयोजनका निम्ति मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय, पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरे र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीको एक समिति बनाइएको छ। समितिलाई तीन दिनभित्र सङ्क्रमण व्यवस्थापनका लागि वैकल्पिक बजारका लागि प्रस्तावसहितको प्रतिवेदन मन्त्रालयसमक्ष पेश गर्न निर्देशन दिइएको छ।
चीनबाट हुनसक्ने पर्यटकको कमीलाई पूर्ति गर्न अन्य वैकल्पिक गन्तव्य बजारको खोजी भइरहेको पर्यटनमन्त्री योगेशकुमार भट्टराईले जानकारी दिए। कोरोना भाइसरको प्रकोपले नेपालको पर्यटन क्षेत्रमा पर्न सक्ने सम्भावित जोखिम न्यूनीकरणका विषयमा आज सरोकारवालासँगको छलफलमा उनले वैकल्पिक बजारका रूपमा खाडी मुलुकलगायतका गन्तव्यमा पर्यटन प्रवद्र्धनको काम तत्काल अघि बढाउन आग्रह गरे।
चिनियाँ पर्यटक कम आउने तथा होटल, एयरलाइन्सले पनि आफ्ना सेवामा कटौती गर्न थालेका सन्दर्भमा वैकल्पिक बजार खोज्नु नेपालका लागि अपरिहार्य भइसकेको छ। सन् २०२० लाई सरकारले नेपाल भ्रमण वर्ष अभियानको रुपमा मनाएर २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। भ्रमण वर्षको औपचारिक शुभारम्भ गरी प्रवद्र्धनात्मक गतिविधि सञ्चालन भइरहेको छ। भ्रमण वर्ष अवधिमा चीनबाट मात्रै पाँच लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य थियो। तर, यो लक्ष्यलाई अहिले चीनमा देखापरेको कोरोना भाइरसको प्रकोपले प्रत्यक्ष असर पुग्ने देखिएको छ।
चीनमा फैलँदै गएको कोरोना भाइरसको प्रत्यक्ष प्रभाव नेपालको पर्यटन क्षेत्रमा पर्न जाने सम्भावना औँल्याउँदै सरोकारवालाले पनि वैकल्पिक बजारको खोजी गर्न आग्रह गर्दै आएका छन्। नेपालको प्रमुख पर्यटकीय स्रोत बजार चीनबाट वार्षिकरूपमा दुई लाखभन्दा बढी पर्यटक नेपाल आउने गरेका छन्। पछिल्ला चार वर्षको आँकडा हेर्दा चिनियाँ पर्यटकको सङ्ख्यामा निरन्तर बढोत्तरी भइरहेको छ। पर्यटन बोर्डका अनुसार चीनबाट सन् २०१६ मा एक लाख चार हजार पाँच, सन् २०१७ मा एक लाख छ हजार र सन् २०१८ मा एक लाख ५३ हजार ६३३ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका थिए।
अध्यागमन विभागको प्रारम्भिक तथ्याङ्कअनुसार सन् २०१९ मा झण्डै १२ लाख पर्यटक नेपाल आएका छन्। एघार लाख ९७ हजार १९१ पर्यटक आएका छन्। यो सङ्ख्यामध्ये चीनबाट सर्वा्धिक बढी एक लाख ६९ हजार पर्यटक नेपाल भित्रिएका छन्। सन् २०१८ मा १२ लाख हाराहारी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए। मन्त्री भट्टराईले भ्रमण वर्ष मनाइरहेका बेला चीनबाट हुनसक्ने पर्यटकको कमीलाई अन्य गन्तव्यबाट पूर्ति गर्ने गरी बजार पहिचान र प्रवद्र्धनका कामलाई प्रभावकारी रुपमा अघि बढाइने बताए।
उनले भ्रमण वर्षको अवधिमा चीनबाट बढीभन्दा बढी पर्यटक भित्र्याउन चीनले माथिल्लो निकायदेखि तल्लोतहसम्म चासो दिएको जानकारी गरे। “नेपाल अहिले पनि पर्यटनका हिसाबले सुरक्षित छ, सरकार सजग र संवेदनशील भएर लागेको छ”, उनले भने। पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले चीनबाट हुने पर्यटकीय क्षतिलाई पूर्ति गर्न अन्य पर्यटकीय गन्तव्य बजारको खोजी र प्रवद्र्धन गरिनुपर्नेमा जोड दिए। कार्यक्रममा पर्यटन विभागका महानिर्देशक घिमिरेले चीनसँग सीमा जोडिएका नाकामा स्वास्थ्य कक्ष खडा गरी निरन्तर अनुगमन भइरहेको जानकारी दिए।
अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले अध्यागमनमा कुनै समस्या नरहेको तर कोरोनाको अनावश्यक प्रचार भइरहेको बताए। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले कोरोनाको सम्भावित जोखिम न्यूनीकरणका लागि विमानस्थलले विशेष सतर्कता अपनाएको बताए। नेपाल एयरलाइन्सका सर्भिस निर्देशक जनकराज कालाखेती निगमका गन्तव्यमा कोरोना भाइरसको प्रकोप नरहेको र सम्भावित जोखिम नियन्त्रणका लागि आन्तरिक प्रयास गरिएको उल्लेख गरे।
हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले चीनका केही गन्तव्यमा छोटो अवधिका लागि उडान सेवा स्थगन गरिएको बताए। होटल एशोसिएशन अफ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले होटल क्षेत्रमा अहिलेसम्म प्रभाव नपरेको र सदस्य होटललाई सतर्कता अपनाउन आग्रह गरिएको जानकारी दिए। ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष खोमबहादुर सुवेदीले सरकारी निकायबाट कोरोनाको प्रकोप नरहेको सन्देशसहितको विज्ञप्ति जारी गरिनुपर्नेमा जोड दिए।