काठमाडौं - अकुपाई टुँडिखेलले अब प्रतिनिधि सभा, राष्ट्रियसभा, प्रदेश सभाका विभिन्न समितिमा गई टुँडिखेलको संरक्षण गर्न सरकारलाई निर्देशन दिन लगाउने आगामी योजना घोषणा गरेको छ।
शनिबार काठमाडौंको खुल्लामञ्चमा अकुपाई टुँडिखेलले एक कार्यक्रमको आयोजना गरेर आगामी योजनाहरु सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो। अकुपाई टुँडिखेलका अभियन्ताहरुले अहिलेसम्म आफूहरुले स्थानीय सरकारसँग पटक–पटक टुँडिखेलको संरक्षणको लागि हारगुहार गरेको तर कुनै सुनुवाई नभएकोले बाध्य भएर प्रादेशिक सरकार (बाग्मती प्रदेशको सरकार) र केन्द्रीय सरकारलाई नै अब यसको संरक्षणको लागि आग्रह गरिने जानकारी दिएका हुन्।
त्यस्तै, अभियानले टुँडिखेलको अतिक्रमण गम्भीर मानव अधिकारको उल्लङ्घन भएकोले राष्ट्रिय मानव अधिकार आयोगमा डेलिगेसन गई तत्काल सरकारलाई सो अतिक्रमण हटाउन सिफारिस गर्न लगाउने पनि आगामी कार्यक्रम तय गरेको छ।
युनेस्कोमा डेलिगेसन गई टुँडिखेलको मूर्त अमूर्त सम्पदाप्रति संवेदनशील हुन ध्यानाकर्षण गराउने र चेतनशील नागरिक, नागरिक समाज, राजनितिज्ञ, पत्रकारहरूबाट आएको सुझावलाई आत्मसाथ गर्दै मुक्त टुँडिखेलको लागि सङ्घर्ष गर्ने पनि अरु कार्यक्रम रहेको अभियानले जानकारी गराएको छ।