१. नेकपा केन्द्रीय कमिटी बैठकमा ११ समूहको प्रतिवेदन पेस
काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जारी केन्द्रीय कमिटी बैठकमा आज ११ वटा समूहको प्रतिवेदन प्रस्तुत भइरहेकाे छ। समुहगत छलफल सकेर विभिन्न १५ वटा समूहले तयार पारेको प्रतिवेदन पनि शीर्ष नेतृत्वसामु प्रस्तुत भइरहेकाे हाे। यसअघि शुक्रबारको बैठकमा विभिन्न ४ वटा समूहले आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए। समूहगत छलफलबाट आएका सुझावलाई प्रतिवेदनका रुपमा पेश गर्दै पार्टीमा गुटबन्दी मौलाएको र पार्टी विधान विपरीत सञ्चालन भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
२. अकुपाई टुँडिखेल अभियान स् अब प्रदेश र केन्द्रीय सरकारलेनै टुँडिखेलको संरक्षण गर्नुपर्छ
काठमाडौं – अकुपाई टुँडिखेलले अब प्रतिनिधि सभा, राष्ट्रियसभा, प्रदेश सभाका विभिन्न समितिमा गई टुँडिखेलको संरक्षण गर्न सरकारलाई निर्देशन दिन लगाउने आगामी योजना घोषणा गरेको छ।
शनिबार काठमाडौंको खुल्लामञ्चमा अकुपाई टुँडिखेलले एक कार्यक्रमको आयोजना गरेर आगामी योजनाहरु सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो। अकुपाई टुँडिखेलका अभियन्ताहरुले अहिलेसम्म आफूहरुले स्थानीय सरकारसँग पटक–पटक टुँडिखेलको संरक्षणको लागि हारगुहार गरेको तर कुनै सुनुवाई नभएकोले बाध्य भएर प्रादेशिक सरकार (बाग्मती प्रदेशको सरकार) र केन्द्रीय सरकारलाई नै अब यसको संरक्षणको लागि आग्रह गरिने जानकारी दिएका हुन्।
३. सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु
सिन्धुली– मोटरसाइकल दुर्घटना हुँदा सिन्धुलीमा दुईको मृत्यु भएको छ। बिपी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका–७ माझइीटारमा प्रदेश नं २ को ०२–००१ प २५१० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रञ्जु सिग्देलका अनुसार मोटरसाइकल चालक धनुषा जिल्ला महेन्द्रनगर–२ घर भई हाल छिरेश्वर नगरपालिका–६ निवासी २४ वर्षीय सुनिलकुमार राय राजपुतको र मोटरसाइकल पछाडि सवार सोही ठाउँका २३ वर्षीय कृष्णकुमार गुप्ताको मृत्यु भएको हो।
४. महिलाका नाममा उद्योग दर्ता बढ्दै
हेटौंडा– मकवानपुरमा महिलाको नाममा दर्ता भएका उद्योग तथा व्यावसायिक संस्थाको सङ्ख्यामा वृद्धि भएको छ। राज्यले महिलालाई आर्थिक हिसाबले बलियो बनाउनका लागि उद्योग तथा व्यवसायमा राजश्व छुटको व्यवस्था गरेकाले महिला उद्यमी तथा व्यवसायीको सङ्ख्यामा वृद्धि भएको हो।
घरेलु तथा साना उद्योग कार्यालय हेटौँडाको तथ्याङ्कको आधारमा चालु आर्थिक वर्षमा पुरुषको तुलनामा महिलाको नाममा दोब्बर उद्योग दर्ता भएका छन्। हेटौँडाको घरेलु तथा साना उद्योगमा निजी फर्म रजिष्ट्रेशन ऐन २०३४ ले तोकेका उद्योग तथा व्यापारिक फार्म दर्ता गर्दा यस आवदेखि सरकारले छुट दिएपछि महिलाको नाममा उद्योग तथा व्यापारिक फार्म दर्ता सङ्ख्या बढेको जनाइएको छ।
५. गाउँपालिका अध्यक्ष जोशीमाथि निर्घात कुटपिट, उपचारका लागि काठमाडौं रिफर
अमरगढी– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का आलिताल गाउँपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्र जोशीलाई अज्ञात समूहले अपहरण गरी निर्घात कुटपिट गरेको छ। शुक्रबार उनलाई अज्ञात समूहले अपहरण गरी कुटपिट गरेको हो।
आलिताल गाउँपालिका–३ को वडा बैठकमा सहभागी हुनका लागि बैठकस्थलतर्फ जाने क्रममा उनलाई अपहरण गरी कुटपिट गरेको नेकपा जिल्ला कमिटी डडेल्धुराले विज्ञप्तिमार्फत जनाएको छ। आलितालभन्दा करीब ५०० मिटरमाथि चौरवण्डले भन्ने स्थानमा मुखुण्डोधारी समूहले जोशीमाथि कुटपिट गरी गम्भीर घाइते बनाएको नेकपा जिल्ला कमिटी सचिव वीरेन्द्रकुमार बस्नेतले विज्ञप्तिमार्फत जानकारी गराएको छ।
६. मौसमी फ्लुको सङ्क्रमणले ३० विद्यार्थी बिरामी
बाजुरा– मौसमी फ्लुको सङ्क्रमणबाट हिमाली गाउँपालिकामा ३० विद्यार्थी एकैसाथ बिरामी परेका छन्। वडा नं ६ धुलाचौरमा रहेको एन्जल इङ्लिस बोर्डिङ स्कूलमा अध्ययन गर्ने विद्यार्थी बिरामी परेका प्रिन्सिपल दिनेश सागरले जानकारी दिए।
विद्यालयमा अध्ययन गर्ने १०० विद्यार्थीमध्ये ३० बिरामी परेका छन्। तीमध्ये तीन सिकिस्त बिरामी छन्। तीन दिनदेखि विद्यालयमा सङ्क्रमण फैलिएको सागरले बताएका छन्। शुरुमा दुई जनामा फैलिएको र तीन दिनमै ३० मा सङ्क्रमण देखिएको बताइएको छ। एकैसाथ ठूलो सङ्ख्यामा विद्यार्थी बिरामीले थला परेपछि विद्यालय नै बन्द गरिएको छ।
७. नागढुङ्गा सुरुङमार्ग निर्माणको तयारी शुरु
काठमाडौं– सडक पूर्वाधारमा पहिलो सुरुङमार्ग र ‘ओभरफ्लाइ’ को निर्माण कार्य अघि बढाउने तयारी थालिएको छ। काठमाडौँ भित्रने सहज मार्गका रुपमा हेरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी शुरु भएको छ।
नयाँ मानिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणस्थलमा आवश्यक तयारी अघि बढेको हो। सडक विभागको अनुसार चिनियाँ निर्माण कम्पनीले माटो सम्याउने, आवश्यक सामग्रीको व्यवस्थापन, जनशक्ति ल्याउनेलगायतका काम अघि बढाएको छ। सडक विभाग विकास समन्वय महाशाखाका प्रमुख अर्जुनजंग थापाले भने कम्पनीले अहिले आयोजना स्थलसम्म पुग्ने पुहँच सडक निर्माण शुरु गरिसकेको छ।
८. २० वर्षका युवकले ६० वर्षकी महिलासँग विवाह
एजेन्सी– भारतको मुरादाबादको रामपुरमो २० वर्षका एक युवकले ६० वर्षकी महिलासँग बिहे गरेका छन्। रामपुरको सैदनगरमा भएको यो विवाहका विषयमा त्यस क्षेत्रमा निकै चर्चा रहेको छ। युवक हरदोइका भएको बताइएको छ।
युवकले दुई वर्ष पहिले आफ्नो मोवाइलबाट कहीँ फोन गर्दै थिए यही क्रममा गल्तीवश फोन अन्तै गयो। ६० वर्षकी ती महिलाले फोन उठाइन् त्यपछि दुवैबीच फोनमा कुरा हुन थाल्यो।फोनमा कुरा गदै जाँदा दुवै बीच घनिष्ट सम्बन्ध बढदै ग¥यो।
९. प्रहरीको कारबाहीमा परी तेह्र आतङ्ककारीको मृत्यु
एजेन्सी– बुर्किना फासोमा त्यहाँको प्रहरीले विद्रोहीका विरुद्ध जारी राखेको कारबाहीका क्रममा परी कम्तीमा पनि १३ जना जिहादी विद्रोही मारिएका समाचारमा जनाइएको छ।
त्यहाँकाे एक स्थानीय प्रहरी कार्यालयमा आक्रमण गर्ने प्रयासमा रहेका ती जिहादीमाथि प्रहरीले गरेको कारबाहीमा परी ती ‘आतङ्ककारी’ मारिएका अधिकारीले जनाएका छन्। गत शुक्रबार भएको सो कारबाहीमा परी सुरक्षाकर्मीतर्फ भने एक जना प्रहरी मारिएका र अरु सात प्रहरी घाइते भएका प्रहरीले जारी गरेको वक्तव्यमा उल्लेख छ।
१०. जनताको आर्थिक समृद्धिसँग केन्द्रीत योजना ल्याउनुपर्छः प्रदेश प्रमुख प्रसाईं
काठमाडौं– वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले प्रदेश सरकारले जनताको आर्थिक समृद्धिसँग केन्द्रीत योजना ल्याउनुपर्ने बताएका छन। वाग्मती प्रदेशसभाको (तत्कालीन प्रदेश नं ३) दोस्रो वार्षिकोत्सव समारोहको आज यहाँ उद्घाटन गर्दै उनले भने, ‘जनताको आर्थिक समृद्धि, गुणस्तरीय शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि प्रदेश सरकार अग्रसर हुनुपर्दछ।’
प्रदेश प्रमुख प्रसाईंले जनपक्षीय ऐन कानूनको तर्जुमा गरी भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापनाका लागि जिम्मेवार भएर कार्य गर्न प्रदेश सरकारलाई आग्रह गरे।
११. चीनबाट आउनेहरुलाई अष्ट्रेलिया प्रवेश गर्न नदिने घोषणा
एजेन्सी– अष्ट्रेलियाले चीनबाट आउनेहरुलाई आफ्नो देशमा प्रवेश गर्न नदिने घोषणा गरेको छ। अष्ट्रेलियाली सरकारले आफ्नाे नागरिकबाहेक अरू कसैलाई पनि प्रवेश गर्न नदिने घोषणा शनिबार गरेको अधिकारीहरुले जनाएका छन्।
चीनमा पहिलोपटक देखिएको नोवेल कोरोना भाइरस अहिले विभिन्न फैलिन थालेपछि त्यसलाई नियन्त्रण गर्नका लागि अष्ट्रेलियाले यस्तो निर्णय लिएको हो। अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले भने, “अष्ट्रेलियाका नागरिक, अष्ट्रेलियाका बासिन्दा, उनीहरुमा आश्रित, कानूनी संरक्षक तथा अविभावकलाई मात्रै चीनबाट अष्ट्रेलिया आउन अनुमति दिइनेछ।” यो व्यवस्था शनिबारदेखि नै लागू भइसकेको उनले जानकारी दिए।
१२. ३ करोड फेसबुक प्रयोगकर्ताको मृत्यु
एजेन्सी– आजभोलि सोसल मिडियामा मानिसहरुले आफ्नो धेरै समय बिताउने गरेका छन्। सोसल मिडिया आजभोलि एकदमै लोकप्रिय बन्दै गइरहेको छ।
एक तथ्यांकका अनुसार फेसबुकमा ३ करोड अकाउन्ट यस्ता मानिसका छन् जसको मृत्यु भैसकेको छ। एक रिपोर्टका अनुसार आगामी ४० वर्ष भित्र जिवित भन्दा मृतक फेसबुक प्रयोगकर्ताको संख्या दोब्बर हुनेछ।