काठमाडौं - वाग्मती सफाइ महाअभियानको ३५१औँ हप्तामा त्रिपुरेश्वरस्थित पुलमुनिको नदी किनारमा सफाइ गरी छ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ।
सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिकालगायत १६ भन्दा बढी संस्थाका गरी ३५० जनाभन्दा बढी अभियानकर्मीको सहभागिता रहेको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए।
सफाइमा अधिकार सम्पन्न वाग्मती समितिका पूर्वआयोजना प्रमुख आशिष घिमिरेलगायत सहभागी थिए। अर्को हप्ता शनिबार नेपाल टेलिकमको वार्षिकोत्सवका अवसरमा त्यहाँ कार्यरत कर्मचारी पनि सहभागी भएर सफाइ अभियानमा साथ जानकारी प्राप्त भएको पनि अभियानकर्मी शाहीले सनाए।
यसैगरी गुह्येश्वरीमाथिको वाग्मती सफाइको ३१२औँ हप्तामा टाइमलाइन स्कुलको नेतृत्वमा गोठाटार पुलमुनिको नदी क्षेत्रमा सफाइ गरिएको छ। सफाइमा विद्यालयका २०० भन्दा बढी विद्यार्थी सहभागी भएको जनाइएको छ। सफाइमा जनचेतना जागृत गराउन विद्यालयलाई सहभागी गराइएको यस क्षेत्रको नदी सफाइको संयोजन गर्दै आएको वाग्मती सुन्दरता सरोकार मञ्चले जनाएको छ।
सो अवसरमा कुहिने फोहर खाडल खनेर गाडी नकुहिने फोहरलाई गोकर्णेश्वर नगरपालिकाले व्यवस्थापन गरेको थियो। उपत्यकाका रुद्रमति, विष्णुमति, मनोहरा, ललितपुरको गोदावरी खोला, वाग्मतीको तिलगङ्गा र सुन्दरीघाट, चक्रपथको उत्तरी र पश्चिमी भागलगायत स्थानमा पनि आज सफाइ गरिएको जनाइएको छ। विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएपछि हाल देशभर १०६ भन्दाबढी स्थानमा स्वतःस्फूर्तरुपमा सफाइ अभियान चलिरहेको छ। रासस