काठमाडौं– कालिमाटी बजारमा १५ दिनअघिसम्म सुकेको लसुनको मूल्य किलोको २ सय ४५ रुपैयाँ थियो। एक हप्ताअघि ४ सय ९५ रुपैयाँ प्रतिकिलोमा आईपुगको लसुनको मूल्य आइतबार ५ सय ६० रुपैयाँ नाघेको छ।
बजारमा खुद्रा मूल्य ६ सय माथि पुग्न थालेको छ। प्याजको मूल्यले उपभोक्तालाई सताइरहेका बेला लसुनको मुल्यले नयाँ रेकर्ड राखेको छ। लसुनको मूल्य बढेको तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष खुमप्रसाद घिमिरेले बताए। ‘लसुन त सुनजस्तो भयो,’ उनले भने, ‘इतिहासमा लसुनको मूल्य यति माथि गएको थिएन।’
बढीमा प्रतिकिलो २८५ देखि ३०० रुपैयाँभन्दा माथि नगएको लसुन अहिले खुद्रामा अधिकतम् ५६० रुपैयाँमा पुगेको छ। चीनबाट हुने आयात प्रभावित भएपछि लसुन महंगिएको हो। अझै एक महिना लसुन महंगिने क्रम जारी रहने सम्भावना रहेको घिमिरेले बताएका छन्।
‘रसुवागढीबाट आयात रोकिएपछि लसुनको बजारमा अभाव छ,’ लसुन महंगिएको छ, बजारमा मूल्यले उछाल हानिरहेको छ,’ उनले भने। चीनमा भारी हिमपहिरोले सडक बिग्रिएपछि दुई हप्ताअघि चीनबाट हुने आयात रोकिएको थियो।
१ सय ४५ रुपैयाँ प्रतिकिलोमा हरियो लसुन अहिले बिक्री भइरहेको छ। हरियो लसुनको मूल्य पनि बढ्ने क्रममा छ। कालीमाटी फलफूल बजार विकास समितिले १५ दिनमा हरियो लसुनको मूल्य पनि १६ प्रतिशतले बढेको जनाएको छ।