एजेन्सी– चीनको हुबे प्रान्तको वुहान सहरबाट फैलिएको कोरोना भाइरसको बढ्दो सङ्क्रमणलाई रोक्ने उद्देश्यले अमेरिका, अष्ट्रेलियासहितका ६ मुलुकले चीनबाट आफ्नो देशमा मानिसहरूको आवातजावतमा प्रतिबन्ध लगाएका छन्।
अमेरिका र अस्ट्रेलियाले चीनको भर्खरै भ्रमण गरेका विदेशीलाई आफ्नो देशमा प्रवेश नदिने निर्णय लिएका छन्। यो बढी चिनियाँ नागरिकप्रति लक्षित छ। त्यस्तै यसअघिनै रुस, जापान, पाकिस्तान र इटलीले यात्रा प्रतिबन्ध घोषणा गरिसकेका छन।
अमेरिकालेपनि पछिल्ला दुई सातादेखि चीनको भ्रमण गरेका सबै विदेशीलाई आफ्नो देशमा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ। हुबे प्रान्तबाट फर्किरहेका आफ्नो देशका नागरिकलाई अमेरिकाले १४ दिन क्वारन्टीनमा राखेर उनिहरुको निगरानी गरिरहेको छ। अस्ट्रेलियाले चीनबाट फर्किएका आफ्ना कुनै पनि नागरिकलाई दुई हप्ता क्वारन्टीनमा राखेर निगरानी गर्ने जनाएको छ।
विश्व स्वास्थ्य संगठनका स्वास्थ्य अधिकारीहरूले भने यात्रामा नै भएको प्रतिबन्धको विरोध गरेका छन। विश्व स्वास्थ्य सङ्गठनले यात्रा प्रतिबन्धका कारण सूचना आदानप्रदान र मेडिकल आपूर्ति संयन्त्रमा अवरोध पुग्नुका साथै अर्थतन्त्रमा क्षति र्पुयाउने भएकाले सचेत रहन आह्वान गरेको छ। सीमा बन्द गरेपछि यात्रुहरू अनधिकृत रूपमा पस्दा भाइरस झन् विस्तार हुने डब्ल्यूएचओले चेतावनीसमेत दिएको छ।
डब्ल्यूएचओले सीमावारपार गर्ने स्थानमा स्वास्थ्य परीक्षणको व्यवस्था गर्न सुझाब दिएको छ। डिसेम्बरमा कोरोना भाइरस फेला परेको चीनले आधिकारिक सल्लाहको बेवास्ता गरेको भन्दै यात्रा प्रतिबन्ध लगाउने कदमको आलोचना गरेको छ। चीनमा कोरोनाभाइरसको सङ्क्रमणबाट २ सय ९४ जनाको मृत्यु भइसकेको छ भने १२ हजार भन्दा बढी संक्रमित भएका छन।
सन् २००३ मा दुई दर्जन देशमा फैलिएको सार्सको महामारीजस्तै गरी कोरोनाभाइरसको विश्वव्यापी विस्तार भएपछि डब्ल्यूएचओलेले विश्वव्यापी आपतकाल घोषणा गरिसकेको छ। त्यस्तै सन् २०१२ मा कोरोना भाइरसकै एक प्रकार मिडिल इस्ट रेस्पाइरेटरी सेन्ड्रोम (मेर्स) बाट करीब ८ सय ५८ जनाको ज्यान गएको थियो।