काठमाडौं – नेपाल राष्ट्र बैंकले नेपाल बंगलादेश बैंकलाई कारबाही गरेको छ। कृषि क्षेत्रमा तोकिएको लगानी गर्न नसकेको भन्दै राष्ट्र बैंकले एनबी बैंकलाई ४ करोड रुपैयाँ जरिवाना गरेको हो।
राष्ट्र बैंकले प्राथमिकता प्राप्त क्षेत्रमा कुल कर्जाको २५ प्रतिशत अनिवार्य लगानी गर्नुपर्ने व्यवस्था गरेको छ। जसमध्ये १० प्रतिशत कर्जा लगानी कृषि क्षेत्रमा नै हुनुपर्छ। तर गत आर्थिक वर्ष २०७५–७६ मा एनबी बैंकले ९ प्रतिशत पनि पुर्याउन नसकेको राष्ट्र बैंकले जनाएको छ।
कुनै बैंकले तोकिएको क्षेत्रमा कर्जा लगानी नगरे लगानी नभएको कर्जाको ब्याज बराबर जरिवाना राष्ट्र बेंकले गर्ने गरेको छ। सोहि अनुसार लगानी पुर्याउन नसकेको रकमको ब्याज बराबरको रकम राष्ट्र बैंकले जरिवाना तिराएको हो।