एजेन्सी– सूचना प्रविधि क्रान्तिसँगै भारतमा मोबाइल ग्राहकहरुको संख्यामा लगातार वृद्धि हुँदै गईरहेको छ। भारतमा हाल स्मार्टफोनप्रतिको आकर्षण यति बढेको छ कि अहिले स्मार्टफोन प्रयोगकर्ताको संख्या ५० करोडभन्दा बढि पुगेको छ।
यसो हुनुमा त्यहाँ उपलब्ध रहेको फोरजी सेवा र सस्तो डाटादरलाई मान्न सकिन्छ। मार्केट रिसर्च फर्म टेकएआरसीलले पछिल्लो समय सार्वजनिक भएको एक रिर्पोटकाअनुसार भारतमा सन् २०१८ को तुलानामा स्मार्टफोनको खरिददर १५ प्रतिशतले वृद्धि भएको छ।
रिर्पोटले २०१९ को डिसेम्बरसम्म भारतका दुई मिलियन मानिसहरुले स्मार्टफोन प्रयोग गर्ने गरेको देखाएको छ। त्यस समय भारतीय बजारमा सर्वाधिक शेयर हिस्सा सामसङको रहेको थियो। त्यसपछि शाओमी, भीभो र ओपो क्रमश दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका थिए।
तर हाल भारतीय बजारमा शाओमीको शेयर सर्वाधिक रहेको छ। भारतीय बजारमा शाओमी र रियलमी ब्रान्डको प्रवेशपछि नयाँ ग्राहकहरु स्मार्टफोनसँग जोडिँदै गईरहेको रिर्पोटमा उल्लेख गरिएको छ।
भारतमा सन् २०१९ मा रियलमीले आफ्ना ग्राहक संख्यामा ४९ प्रतिशतले वृद्धि गरेको थियो। त्यस्तै वानप्लसले ४१ प्रतिशत, सामसङ, शाओमी र ओपोले ग्राहक संख्यामा ९, २५, र ३६ प्रतिशतले वृद्धि गरेका थिए।