काठमाडौं– बलात्कार आरोप लागेर निलम्बनमा परेका एसएसपी शौरभ राणाले आत्मसमर्पण गरेका छन्। संघीय प्रहरी इकाइ कार्यालय धरानमा कार्यरत एसएसपी राणाले आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय सुनसरीमा गएर आत्मसमर्पण गरेकाे बताइएकाे छ।
एक महिलामाथि यौन दुर्व्यवहार गरेको उजुरी परेपछि उनलाई गृह मन्त्रालयले निलम्बन गरेको थियाे। साथै, गृहले अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयलाई पनि पत्राचार गरेको थियाे।
गत कात्तिकमा धरानकी एक महिलाले राणाविरुद्ध उजुरी लिएर गृह पुगेकी थिइन्। उनले गृहमन्त्री रामबहादुर थापा ‘बादल’, गृह सचिव प्रेमकुमार राई लगायतलाई भेटेर एसएसपीबाट आफू पीडित बनेको दाबी गरेकी थिइन्। राणाले भने आरोप अस्वीकार गर्दै आएका थिए।