एजेन्सी– दक्षिण कोरिया सरकारले विगत १४ दिनदेखि चीनको हुबेइ प्रान्तमा रहेका कुनै पनि विदेशी नागरिकलाई दक्षिण कोरिया प्रवेशमा रोक लगाएको छ। उक्त प्रावधान फेब्रुअरी ४ देखि लागु हुने दक्षिण कोरियाका प्रधानमन्त्री छुङ से क्यूनले जनाएका छन्।
प्रधानमन्त्री छुङले १४ दिनअघि चीनको हुबेइमा रहेका दक्षिण कोरियाली नागरिक फर्किएमा दुई सातासम्म उनीहरुको घरमै क्वारेन्टाइन गरिने बताए। त्यसैगरी बिनाभिसा दक्षिण कोरियाको जेजु टापुमा घुम्न आउने पर्यटकलाई पनि अस्थायी रुपमा प्रतिबन्ध गरिएको छ।
यसअघि सिंगापुर, अस्ट्रेलिया, न्युजिल्यान्ड र अमेरिकाले पनि चीन हुँदै आफ्नो मुलुक प्रवेश गर्ने विदेशी नागरिकमाथि प्रतिबन्धको घोषणा गरिसकेका छन्। चीनमा कोरोनाका कारण तीन सयभन्दा बढीको मृत्यु भएको छ भने १४ हजारभन्दा बढी संक्रमित भएका छन्। चीन बाहिर फिलिपिन्समा पनि पहिलोपटक एकजनाको मृत्यु भएको छ। सीएनएन