कैलाली– कैलालीमा अवरुद्ध सडक खुलाउने क्रममा झडप हुँदा ९ जना प्रहरी घाइते भएका छन्। शनिबार पूर्वपश्चिम राजमार्गको लम्की खण्डमा २२ वर्षीय मायाराम चौधरी मृत अवस्थामा भेटिएका थिए। से २ प १८५० नम्बरको मोटरसाइकल दुर्घटनामा परि उनको मृत्यु भएको जनाइएको छ।
मृतकका आफन्त तथा स्थानीयबासीले सवारी साधनले ठक्कर दिएर चौधरीको मृत्यु भएको भन्दै सडक अवरुद्ध पारेका थिए। ठक्कर दिने सवारीको पहिचान गरी कारबाही गरिनुपर्ने भन्दै आइतबार बिहानैदेखि पूर्वपश्चिम राजमार्गको लम्कीमा सडक अवरुद्ध पारिएको थियो।
प्रहरीले सडक सुचारु गर्न खोज्दा झडप हुँदा सशस्त्र प्रहरीका चार जना र नेपाल प्रहरीका पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए।
झडपलाई नियन्त्रणमा लिन केही राउन्ड अश्रु ग्याँस प्रहार गरिएको र अहिले सडक सुचारु भइसकेको उनले बताए। प्रहरीले ठक्कर दिएको आशङ्कामा एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको जनाएको छ। अहिले इलाका प्रहरी कार्यालय लम्किमा घटनाका विषयमा सर्वदलीय बैठक भइरहेको छ।