काठमाडौं – केही दिन अघिमात्र रिलिज भएको विराज भट्टको फिल्म ‘साङ्लो’ मा समावेश गीत ‘झ्याम्मै आँखा झ्याम्मै’ लाई चोरीको आरोप लागेको छ। विराज भट्टकै निर्देशनमा रहेको यो गीतको शब्द चोरी गरेको भन्दै फिल्म रुद्रप्रियाका निर्देशक सुदीप भुपाल सिंहले आरोप लगाएका हुन्।
सुदीपले महानगरीय प्रहरी परिसर, टेकुमा गीत चोरीको आरोप लगाउँदै संगीतकार सुरेद अधिकारी, गायक निशान भट्टराई र विराज भट्ट प्रोडक्सनविरुद्ध उजुरी दिएका छन्। उनले गीतको मर्म बिगारेर चोरी भएको र क्रेडिट पनि नदिएको आरोप लगाएका छन्।
संगीतकार सुरेश अधिकारीले यो गीत सुदीपकै भएको स्वीकारेका छन्। युट्युबमा अपलोड गरिएको ‘झ्याम्मै आँखा झ्याम्मै’ गीतमा शब्दको क्रेडिट निशान भट्टराईलाई दिइएको छ। अधिकारीले यसलाई प्राविधिक त्रुटि भएको बताएका छन्। यता विराजले भने फिल्मका लागि संगीतकार अधिकारीसँग गीतबारे कुरा गरेको र यो गीत आफूले सुरेश अधिकारीसँग लिएको बताए। उक्त गीतबारे आफूलाई केही पनि थाहा नभएको प्रतिक्रिया दिए।
गीत चोरीको आरोप लगाउने सुदीपले भने यो गीत कम्पोज गर्न सुरेश अधिकारीलाई ३ वर्षअघि दिएको प्रतिक्रिया दिए। विराज भट्ट र निकिता चाण्डकको शीर्ष भूमिका रहेको यो फिल्म यही माघ २४ गतेदेखि रिलिज हुँदैछ।