एजेन्सी– आफ्नै श्रीमती, छोरा र छोरीलाई हथौडाले हानेर हत्या गरेपछि रक्सीले मातेर लाशको छेउमा बसेका एक श्रीमानलाई पुलिसले पक्राउ गरेको छ। भारतको झारखंडको राजधानी राँचीका ब्रजेश तिवारी नामका यी व्यक्ति पुलिसकर्मी भएको आज तकको समाचारमा उल्लेख छ। उनले आफूले पनि विष पिएर आत्महत्याको प्रयास समेत गरेका थिए। हत्याको जानकारी पाएपछि आसपासका मानिस पुलिस घरमा पुग्दा आरोपी श्रीमतीको लाशको छेउमा बसिरहेका थिए। विष पिएका आरोपीलाई रिम्स अस्पतालमा भर्ना गरिएको छ।
ब्रजेश पुलिसको स्पेशल ब्रान्चमा ड्राइभर थिए। रक्सीले मातेर घरमा आएका ४० वर्षका ब्रजेशको ३५ वर्षकी पत्नी रिंकीसँग विवाद भएको थियो। विवाद यतिसम्म बढ्यो कि उनले हथौडा उठाएर श्रीमतीमाथि प्रहार गरे। पिताले आमालाई कुटेको देखेपछि छोराछोरी बचाउन आए। छोराछोरीले आमालाई बचाउने प्रयास गरे तर ब्रजेशले १५ वर्षकी छोरी खुशबु र १० वर्षका छोरा बादललाई पनि त्यही हथौडाले हानेर मारिदिए।
हत्यापछि ब्रजेशले आफैं राँचीको पंडरा क्षेत्रमा बस्ने आफ्नी बहिनीलाई फोन गरेर तीनै जनाको हत्या गरेको जानकारी दिए। बताइएअनुसार ब्रजेश आफ्नी छोरी खुशबुको प्रेम सम्बन्धका कारण तनावमा थिए। छोरी उनलाई छोडेर प्रेमीसँग बस्न चाहन्थिन्। यही कुरा ब्रजेशलाई मन परेको थिएन। छोरीले यस्तो गरे आफू समाजमा मुख देखाउन लायक नरहने ब्रजेशले ठान्थे।