सुनसरी– आज बिहान सुनसरीको रामधुनी नगरपालिका–२ मा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। चन्द्रगढीबाट काठमाडौँतर्फ जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको हायस माइक्रो बस र पोखराबाट काँकडभिट्टातर्फ आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
माइक्रोबसका चालक धादिङ बैरेनी–३ बस्ने २८ वर्षीय दीपक खड्काको घटनास्थलमै मृत्यु भएको छ। त्यस्तै झापा भद्रपुर–८ घर भई हाल काठमाडौँ बस्ने ७५ वर्षीय हेमराज कोइराला र ६५ वर्षीया श्रीमती डोलमायाको घटनास्थलमै मृत्यु भएको छ।
भक्तपुर निवासी १७ वर्षीया गरिमा गौतम र भद्रपुर निवासी ४५ वर्षीय टङ्कप्रसाद काफ्लेको विपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको छ।
झापा धरमपुर–९ का होमबहादुर दर्जी र झापाकै सावित्रा राई गम्भीर घाइते भएका छन्। सवारी दुर्घटनामा सामान्य घाइते भएका १० जनाको उपचार भइरहेको प्रदेश नं १ को प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख भीमबहादुर दाहालले जानकारी दिएका छन्। रासस