१. नेकपा बैठक: विपद जोखिम न्युनिकरणका लागि विशेष प्रस्ताव पारित गर्न माग
काठमाडौं – जारी केन्द्रीय समिति बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विपद व्यवस्थापन संगठनका इन्चार्ज र सहइन्चार्जले विपद जोखिम न्युनिकरणका लागि विशेष प्रस्ताव पारित गर्न माग गरेका छन्। आइतबारको बैठकमा केन्द्रीय सदस्य समेत रहेका नेकपाका विपद व्यवस्थापन संगठनका इन्चार्ज डा.गंगालाल तुलाधर र सहइन्चार्ज सुर्य सुवेदी पथिकले नोवल कोरोना भइरसले महामारी र विपदको रुप नलिओस् भन्नाका लागि बैठकमा लिखित माग राख्दै यस्तो प्रस्ताव गरेका हुन्।
२. एमसीसीमा सहमति खोज्न नेकपाद्वारा समिति गठन
काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे सुझाव संकलन गर्न कार्यदल गठन गरेको छ। आइतबार दिउँसो बसेको नेकपा सचिवालय बैठकले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको हो।
केन्द्रीय कार्यसमिति बैठकमा नेताहरुले उठाएको प्रश्नमा जवाफ दिँदै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यदल गठन गर्ने घोषणा गरेका हुन्। वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा गठित कार्यदलमा स्थायी कमिटी सदस्यहरु भीम रावल र प्रदीप ज्ञवाली सदस्य छन्।
३. देउवाको सरकारले खारेज गरेको रोपवे प्रदेश सरकारले पुनः सञ्चालन गर्दै
काठमाडौं– विगत दुई दशकदेखि बन्द भई अहिले अस्थिपञ्जरका रूपमा मात्र सीमित रहेको हेटौँडा–काठमाडौँ रज्जुमार्ग (रोपवे) पुनः सञ्चालनमा ल्याउने तयारी थालिएको छ। बागमती प्रदेश सरकारले तयारी स्वरूप अध्ययन थालेको हो। कुनै बेला तराई तथा आयातित सामान हेटौँडा हुँदै काठमाडौँसम्म मालसामान ढुवानीको भरपर्दो साधनका रूपमा रहेको यो ‘रोपवे’लाई बागमती प्रदेश सरकारले पुनः सञ्चालनमा ल्याउने तयारी थालेको हो।
४. नयाँ बसपार्क शुद्धीकरण अभियान, लागुऔषधसहित ७३ पक्राउ
काठमाडौं– प्रहरीले गोँगबु नयाँ बसपार्क क्षेत्रमा अनैतिक क्रियाकलापमा संलग्न ७३ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले गोँगबु नयाँ बसपार्क शुद्धीकरण अभियानअन्तर्गत ७३ जनालाई शनिबार राति पक्राउ गरेको हो। पक्राउ पर्नेमा ३२ महिला, ३७ पुरुष र चार तेस्रोलिङ्गी रहेका छन्। वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले नयाँ बसपार्क क्षेत्रको विकृति, बिसङ्गति अन्त्यका लागि नयाँ बसपार्क शुद्धीकरण अभियान सञ्चालन गरेको जानकारी दिएका छन्।
५. सरकारसामु १० हजार बढीले दिए इच्छा मृत्यु आवेदन
एजेन्सी– नेदरल्याण्डमा १० हजार एक सय ५६ जनाले मर्नका लागि सरकारसँग आवेदन दिएका छन्। इच्छा मृत्युबारे संसदमा स्वास्थ्य मन्त्री तथा डच सांसद ह्यूगो डि जोङ्गले यस्ताे जानकारी दिएका हुन्। एक रिपोर्ट पेस गर्दै उनले इच्छा मृत्यु माग्नेमा ५५ वर्षभन्दा माथि उमेर भएका मानिस रहेका बताएका छन्। उनले भनेका छन, ‘आफ्नो जिन्दगी आफैँ अन्त्य गर्ने बाटो चाहन्छन्, तर उनीहरूले विरामी भएर यस्तो निर्णय लिन खोजेका होइनन्।’
६. राष्ट्र बैंकले गर्यो नेपाल बंगलादेश बैंकलाई ४ करोड जरिवाना
काठमाडौं – नेपाल राष्ट्र बैंकले नेपाल बंगलादेश बैंकलाई कारबाही गरेको छ। कृषि क्षेत्रमा तोकिएको लगानी गर्न नसकेको भन्दै राष्ट्र बैंकले एनबी बैंकलाई ४ करोड रुपैयाँ जरिवाना गरेको हो। राष्ट्र बैंकले प्राथमिकता प्राप्त क्षेत्रमा कुल कर्जाको २५ प्रतिशत अनिवार्य लगानी गर्नुपर्ने व्यवस्था गरेको छ। जसमध्ये १० प्रतिशत कर्जा लगानी कृषि क्षेत्रमा नै हुनुपर्छ। तर गत आर्थिक वर्ष २०७५–७६ मा एनबी बैंकले ९ प्रतिशत पनि पुर्याउन नसकेको राष्ट्र बैंकले जनाएको छ।
७. बलात्कार आरोप लागेका एसएसपी शौरभ राणाले गरे आत्मसमर्पण
काठमाडौं– बलात्कार आरोप लागेर निलम्बनमा परेका एसएसपी शौरभ राणाले आत्मसमर्पण गरेका छन्। संघीय प्रहरी इकाइ कार्यालय धरानमा कार्यरत एसएसपी राणाले आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय सुनसरीमा गएर आत्मसमर्पण गरेकाे बताइएकाे छ। एक महिलामाथि यौन दुर्व्यवहार गरेको उजुरी परेपछि उनलाई गृह मन्त्रालयले निलम्बन गरेको थियाे। साथै, गृहले अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयलाई पनि पत्राचार गरेको थियाे।
८. ‘सबैभन्दा पहिले अख्तियारलाई नै भ्रष्टाचारमुक्त बनाउनुपर्छ’
काठमाडौं– सांसदहरुले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन पहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नै सफा बनाउनुपर्ने जनाएका छन्। राष्ट्रियसभाको आइतबारको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक २०७६ माथि विचार गरियोस् भन्ने प्रस्तावको सैद्धान्तिक छलफलमा सहभागी हुँदै सांसद जितेन्द्र नारायणदेवले आयोगलाई नै पहिले भ्रष्टाचार मुक्त बनाउनुपर्ने भएकाले त्यस सम्बन्धी प्रावधान संशोधन विधेयकमा राखिनुपर्ने बताए।
९. अङ्ग्रेजी भाषाको प्रयोगमा जोड दिनु हुँदैनः शिक्षा मन्त्री
काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपाली भाषालाई कमजोर बनाउने गरी अङ्ग्रेजी भाषाको प्रयोगमा जोड दिन नहुने बताएका छन्। विश्व निकेतन माध्यमिक विद्यालय काठमाडौँको ७४औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले दक्षिण एशियाको पुरानो भाषाका रुपमा रहेको नेपाली भाषालाई बलियो बनाउँदै अङ्ग्रेजी भाषाको प्रयोगमा जोड दिनुपर्ने बताएका छन्। ‘अङ्ग्रेजी मात्र होइन, चिनियाँलगायतका अन्य भाषाको सिकाइ र प्रयोग गर्दै जानपर्छ, उनले भने, ‘अङ्ग्रेजी भाषाको प्रयोग बढ्दै जाँदा नेपाली भाषा कमजोर बन्दै जाने सम्भावना बढेर गएको छ।’
१०. एक विकेट बराबर ८ हजार बढी रकम गौतम बुद्ध रंगशालालाई दिने सन्दीपको घोषणा
काठमाडाैं– नेपाली लेग स्पिनर सन्दीप लामिछानेले घरेलु मैदानमा हुने अमेरिका र ओमानसंगको सिरिजका क्रममा आफुले लिने हरेक विकेट बराबर ८ हजार ८ सय ४८ रूपैयाँ निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई दिने घाेषणा गरेका छन्।
सन्दिपले आफ्नो फेसबुकमार्फत सिरिजमा आफुले लिने प्रत्येक विकेट बराबर सगरमाथाको उचाई बराबरको सहयोग निर्माणाधिन रंगशालालाई सहयोग गर्ने जनाएका हुन्।
११. श्रीमतीको हत्या गरि टाउको बोकेर पुगे प्रहरी चौकी
एजेन्सी– उत्तर प्रदेशको बाराबंकी जिल्लाका एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरेपछि श्रीमतीको टाउकोसहित पुलिस चौकी पुगेका छन्। पुलिस चौकी पुग्नुअघि उनले काटिएको टाउको लिएर पूरा शहर घुमेका थिए। आज तकको समाचार अनुसार ती व्यक्तिको नाम अखिलेश रावत हो। श्रीमतीको टाउको हातमा लिएर पुलिस थाना पुगेका व्यक्तिलाई देखेर सुरुमा पुलिससमेत आत्तिएको समाचारमा जनाइएको छ। स्रोतका अनुसार ती व्यक्ति पुलिस चौकीमा पुगेपछि पुलिसले उनको हातबाट टाउको लिन खोज्दा उनले राष्ट्रगान गाएका थिए
१२. माइक्रोसफ्टको विण्डोज १० प्रयोगकर्ताहरुको संख्या १ अर्ब नाध्यो
एजेन्सी– माइक्रोसफ्टले आफ्नो अपरेटिंग सिस्टम विण्डोज १० लन्च गरेको करिब ५ वर्षमा नै १ अर्ब डिभाइसहरुमा सो सिस्टम प्रयोग भईरहेको जानकारी दिएको छ। माइक्रोसफ्टले हालै मात्र आफ्नो पुरोना विण्डोज ७ भर्सनको सेक्यूरिटी अपडेट नआउने घोषणा गरेको थियो भने विण्डोज ७ बाट विण्डोज १० मा निशुल्क अपग्रेड हुने सुविधा दिएको छ, जसले गर्दा कम्पनीलाई प्रयोगकर्ताहरुको संख्या बढाउन सहयोग पुगेको हो।
१३. फिल्म ‘साङ्लो’को गीत ‘झ्याम्मै आँखा झ्याम्मै’माथी चोरीको आरोप
काठमाडौं – केही दिन अघिमात्र रिलिज भएको विराज भट्टको फिल्म ‘साङ्लो’ मा समावेश गीत ‘झ्याम्मै आँखा झ्याम्मै’ लाई चोरीको आरोप लागेको छ। विराज भट्टकै निर्देशनमा रहेको यो गीतको शब्द चोरी गरेको भन्दै फिल्म रुद्रप्रियाका निर्देशक सुदीप भुपाल सिंहले आरोप लगाएका हुन्। सुदीपले महानगरीय प्रहरी परिसर, टेकुमा गीत चोरीको आरोप लगाउँदै संगीतकार सुरेद अधिकारी, गायक निशान भट्टराई र विराज भट्ट प्रोडक्सनविरुद्ध उजुरी दिएका छन्।
१४. ९ वटा निर्णय गर्दै राप्रपाको केन्द्रीय कार्य समितिको बैठक सम्पन्न
काठमाडौं– माघ १७ गतेदेखि काठमाडौंमा बसेको राप्रपाको केन्द्रीय कार्य समितिको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ। अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय पदाधिकारीहरु, केन्द्रीय सदस्यहरु, आमन्त्रित केन्द्रीय सदस्यहरु र पदेन सदस्यको रुपमा भातृ संगठनका प्रमुखहरुको सहभागी रहेका थिए। बैठकमा विभिन्न ९ वटा निर्णयहरु भएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।
१५. सुनसरीमा दुर्घटनामा परी ५ को मृत्यु
सुनसरी– आज बिहान सुनसरीको रामधुनी नगरपालिका–२ मा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। चन्द्रगढीबाट काठमाडौँतर्फ जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको हायस माइक्रो बस र पोखराबाट काँकडभिट्टातर्फ आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। माइक्रोबसका चालक धादिङ बैरेनी–३ बस्ने २८ वर्षीय दीपक खड्काको घटनास्थलमै मृत्यु भएको छ। त्यस्तै झापा भद्रपुर–८ घर भई हाल काठमाडौँ बस्ने ७५ वर्षीय हेमराज कोइराला र ६५ वर्षीया श्रीमती डोलमायाको घटनास्थलमै मृत्यु भएको छ।
१६. टिम ईन्डियाले पायो नयाँ धोनी
काठमाडौं – महेन्द्र सिंह धोनी, भारत मात्र होईन विश्वकै सफलतम कप्तान क्रिकेटरमध्येका एक हुन्। आक्रामक व्याटिङ र तिक्ष्ण विकेटकिपिङका लागि परिचित धोनी ‘कप्तान कुल’ भनेर पनि चिनिन्छन्। २००७ देखी २०१६ सम्म भारतीय क्रिकेट टिमको कप्तानी गर्ने क्रममा उनले भारतीय क्रिकेट टिमलाई नयाँ उचाँईमा पुर्याए। यसक्रममा उनले विश्वकप जित्नेदेखी लिएर धेरै ठुला उपलव्धीहरु भारतलाई दिलाए। तर, उनी २०१९ मा भएको आईसिसि विश्वकपदेखी क्रिकेटबाट टाढा छन्।
१७.एनसेलको बाँकी लाभकर यसै आर्थिक वर्षमा उठ्छ : राजश्व सचिव ढुङगाना
काठमाडौं – अर्थ मन्त्रालयका राजश्व सचिव शिशिरकुमार ढुङगानाले सर्वाेच्च अदालतको आदेशपछि दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलका लागि निर्धारण भएको कर यसै आर्थिक वर्ष्भित्र उठाइसक्ने विश्वास दिलाएका छन्। प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको आजको बैठकमा सांसदको जिज्ञासामा उनले भने, “एनसेलले बाँकी रकम चार किस्तामा तिर्ने प्रतिबद्धता गरेको छ, अब पैसा उठाउन सक्छौँ, यसै आर्थिक वर्ष्भित्रमा सबै पैसा उठ्छ।” ‘मेरो मोबाइल’ सेवाको तत्कालीन व्यवस्थापनबाट एनसेल व्यवस्थापनमा हस्तान्तरण हुँदा लाभकर र जरिवाना रु ६२ अर्ब ६३ करोड बक्यौता रहेको जानकारी दिँदै उक्त रकम बुझाउन कम्पनीलाई ताकेता गरिएको थियो।