काठमाडौं – स्वास्थ्यका लागि मोबाइल फोनको अधिक प्रयोग घातक मानिन्छ। धेरै मोबाइल चलाउँदा टाउको दुख्ने, आँखा दुख्ने जस्ता समस्या पनि देखिन्छन् भने मोबाइलको भाइब्रेसनले स्वास्थ्यमा नपुंशक हुने, क्यान्सर हुने जस्ता समस्या हुने बताइन्छ।
तर फोनको रेडियसनसँग नजिक हुदाँ यसले क्यान्सर जस्तो प्राणघातक रोगको खतरा उत्पन्न गराउँछ, गराउन्न भन्नेबारे मत विभाजित पनि छ। घातक भन्ने बित्तिकै मानिसहरुमा ‘रेडियसन’ प्रति त्रासको भाव पैदा हुने गरेको छ। केही रेडियसनले कोशिका तथा डीएनएलाई क्षति पुर्याउँछ। जसले क्यान्सरको खतरा समेत निम्त्याउँने विशेषज्ञहरु बताउँछन्।
रेडियसन भनेको के हो त ?
वरिपरीको वातावरणमा उत्सर्जन भएका ऊर्जा तरंगहरुलाई रेडियसन भनिन्छ। मोबाइल फोनको हकमा रेडियसनको कुरा गर्दा ‘इलेक्ट्रोम्याग्नेटिक रेडियसन’ भन्ने बुझिन्छ। यसरी हेर्दा क्यान्सर उत्पन्न गराउने अल्ट्रा भायोलेट रेडियसन हो।
यसकारण पनि धेरै मानिसहरु मोबाइल फोनको रेडियसनलाई क्यान्सरसँग जोडेर हेर्ने गरिएको छ। घामबाट आउने अल्ट्रा भायोलेट किरणले जब छालालाई छेडेर डीएनए रहेको सेलभित्रको स्थानमा पुग्छ तब क्यान्सर उत्पन्न गराउँछ। समयसँगै यसले डीएनएमा असर गर्छ र कोशिका नै प्रभावित बन्छ।
शरीरमा नयाँ कोशिका उत्पादन गर्न डीएनएको विशेष भूमिका रहन्छ। तर डीएनएमा नै क्षति पुगेपछि नयाँ बन्ने कोशिका पनि दुषित हुन्छन्। यसरी दुषित कोशहरु बढ्दै गएपछि यसले गम्भीर स्वास्थ्य समस्या निम्त्याउँछ। तसर्थ मोबाइलको भाइब्रेसनकै कारण क्यान्सर र मानिसको मृत्यु जस्ता विषय अतिरञ्जनापूर्ण भएको विज्ञहरु बताउँछन।