एजेन्सी– पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत दुई गोल गरेपछि इटालियन सिरी ए मा आइतबार युभेन्टसले फिओरेन्टिनालाई ३–० ले पराजित गरेको छ।
रोनाल्डोले लगातार नवौं लिग खेलमा गोल गरेका हुन्। यसक्रममा उनले पछिल्ला ९ लिग खेलमा १४ गोल गरेका छन्। समग्रमा उनी लिगमा मात्र युभेन्टसका लागि १९ गोल गर्न सफल भएका छन्। रोनाल्डो सन् २००५ मा डेविड ट्रेजेग्वेटपछि लगातार ९ खेलमा गोल गर्ने पहिलो खेलाडी बने।
रोनाल्डोले खेलको ४० औं मिनेटमा पहिलो पेनाल्टी गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए। मिरालेम प्यानिचको प्रहार पेनाल्टी क्षेत्रभित्र रहेका जर्मन पेजेलाको हातमा लागेपछि रेफ्रीले पेनाल्टी दिएका थिए। त्यसअघि युभेका गोलरक्षक वोजचिएक सेचेज्नीले पोल लिरोला र एरिक पुल्गारको प्रहार बचाएका थिए।
८० औं मिनेटमा रोनाल्डोकै पेनाल्टीमा अग्रता दोब्बर भयो। रोड्रीगो बेन्टान्कुरलाई फेदेरिको केचेरिनीले पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए। रोनाल्डोले पहिलो पेनाल्टी गोल गरेकै दिशामा गोल गरेका थिए। खेलको अन्त्यतिर माथिस डे लिग्टले पाउलो डीबालाको फ्रिकिकमा गोल गर्दै जित सुनिश्चित गरे।
यस जितसँगै युभेन्टसले लिगको शीर्षस्थानमा अग्रता कायमै राखेको छ। युभेन्टसको २२ खेलमा ५४ अंक छ भने लाजियोको २१ खेलमा ४९ र इन्टरको २१ खेलमा नै ४८ अंक रहेको छ।