एजेन्सी– दक्षिणपश्चिम चीनको गुइजाव प्रान्तस्थित वुचुवाई काउन्टी, जुन्यी सिटीका करिब एक हजार जोडीले आफ्नो विवाह स्थगित गरेका छन्। उनीहरुको यस्तो निर्णयले चौतर्फी प्रशंसा बटुलेको छ।
स्थानीय स्वास्थ्य संस्थाका डाक्टर लिउ सावती तीमध्ये एक हुन्। मानिस–मानिसबीच कोरोना भाइरल सर्न थालेपछि लिउ र उनकी नर्स प्रेमिकाले आफ्नो विवाह स्थगत गर्ने निर्णय गरेका हुन्।
‘विवाह भनेपछि भीड भइहाल्छ। रोगलाई भीडमाझ फैलनबाट जोगाउन र यसमाथि नियन्त्रण पाउनका लागि मैले मेरी प्रेमिकासँग सल्लाह गरेर विवाह स्थगीत गर्ने निर्णय गरेँ,’ लिउले भने। ‘विवाहको नाममा मेरो परिवार र साथीभाइको स्वास्थ्यलाई जोखिममा पार्न सक्दिनँ।’
विवाहमा आमन्त्रित पाहुनालाई यसबारे जानकारी दिएर लिउ आफ्नो काममा फर्किएका छन्। उनले आफ्ना साथीहरुसँग मिलेर कोरोनाको कहरसँग लड्न स्थानीय गाउँलेको तापक्रम नाप्ने, बुहानबाट आएका पर्यटकबारे जानकारी लिनेलगायतका काम गर्दै आएका छन्।
यसका साथै चाङ्गजियाओका स्थानीय झु ताओले चिनियाँ नयाँ वर्षको चौथो दिनका लागि निश्चित विवाह स्थगीत गरेका छन्। विवाहमा उपस्थित मानिसबीच रोग फैलने सक्ने खतरा देखेर झुले आफ्नी प्रेमिकासँग सल्लाह गरेर विवाह स्थगित गरेको बताए।