एजेन्सी– युवा फरर्वाड अन्सु फातीको दुई गोलमा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आइतबार लेभान्तेलाई २–१ ले पराजित गरेको छ।
खेलको सुरुवातदेखि नै बार्सिलोनाले लेभान्तेमाथि दवाव कायम गरेको थियो। खेल अवधिभर लेभान्तेले पनि पटक पटक बार्सिलोना डिफेन्सलाई दवाव दिएपनि सान्तवना गोलस्वरुप अन्तिम मिनेटमा मात्र गोल गर्न सक्यो। सुरुवाती मिनेटमा नै कप्तान लियोनेल मेस्सी र एन्टोइन ग्रिज्मनको प्रहारलाई गोलरक्षक आइटर फर्नान्डेजले बचाएका थिए।
पहिलो हाफको ३० औं मिनेटमा बार्सिलोनाले फातीको गोलमा अग्रता लिएको थियो। कप्तान मेस्सीले एकै पटक लेभान्तेका ७ डिफेन्डर बिट गरेर दिएको पासलाई फातीले एक डिफेन्डर काट्दै गरेको प्रहार गोलमा परिणत भएको थियो। त्यसको दुई मिनेट नबित्दै बार्सिलोनाको अग्रता दोब्बर भयो।
कप्तान मेस्सीकै पासमा फातीले व्यक्तिगत दोस्रो गोल गर्न सफल भए। उनले मेस्सीले पेनाल्टी क्षेत्रको दायाँ भागमा दिएको पासमा गरेको शक्तिशाली प्रहार गोलरक्षक फर्नान्डेजले बचाउन सकेनन्। मेस्सीकै पासमा नेल्सन सेमेडोले बार्सिलोनालाई ३–० को अग्रता दिलाउने अवसर गुमाए।
दोस्रो हाफमा लेभान्तेले खेलमा फर्कने अवसर पाएपनि गोलरक्षक टेर स्टेगन बाधक बनिरहे। इन्ज्युरी समयमा रुबेन रोसिनाको प्रहार डिफ्लेक्ट हुँदै गोल भएपनि बार्सिलोना अग्रता कायम राख्न भने सफल भयो।
यस जितसँगै बार्सिलोनाले शीर्षस्थानमा रहेको रियल म्याड्रिडसँग अंकको दुरी घटाएको छ। रियलको २२ खेलमा ४९ अंक छ भने बार्सिलोनाको २२ खेलमा ४६ अंक छ।