भारतका प्रसिद्ध कवि/चिन्तक कुँवर नारायण (सन् १९२७ –२०१७) को उच्च मानवतावादी भावको कविता ‘एक अजीव–सी मुस्किल’को नेपाली अनुवाद यहाँ प्रस्तुत गरिएको छ:
यी दिनहरूमा
म एक अनौठो कठिनाइमा छु
अतिशय घृणा गर्न सक्ने मेरो शक्ति
दिनदिनै कमजोर हुँदै गइरहेको छ।
अङ्ग्रेजसँग घृणा गर्न खोज्छु
जसले दुई शताब्दी हामीमाथि शासन जमाए
अकस्मात् शेक्सपीयरको सम्झना आइदिन्छ
जसले हामीमाथि यति ठूलो गुण लगाएका छन्।
मुसलमानसँग घृणा गर्न खोज्छु
गालिब अगाडि आएर उभिन्छन्
अब तपाईं नै भन्नुहोस्
उनका सामु कसको के लाग्छ?
शिखसँग घृणा गर्न खोज्छु
गुरु नानक आँखाभरि छाउँछन्
र शिर आफ से आफ झुकिदिन्छ
कंबन, नागराज, मुत्तुस्वामी... र अरू पनि
जो मेरा होइनन्,
टाढा... कता कता दक्षिणका हुन् भनेर
लाखचोटि सम्झाउँछु आफैलाई
तर मेरो मन
तिनलाई नअपनाई
धरै दिँदैन।
मेरी प्रेमिका
जसले मलाई पहिले धोका दिएकी थिई
लाग्थ्यो भेटिई भने त्यसको हत्या गरिदिऊँ
भेटिन्छे पनि आजकल
कहिले साथी
कहिले आमा
कहिले बहिनीजस्तै
र, म घृणा गर्न छाडेर
प्रेमको घुट्कोमा भरिएको हुन्छु।
कोही यस्तो मिलोस्
जसलाई शिरदेखि पाउसम्म घृणा गरेर
म आफ्नो मन हलुका पार्न सकूँ
यही खोजमा हर समय
म पागलझैं यताउता भौंतारिरहन्छु
तर हुन्छ यसको उल्टो!
कोही न कोही
कहीं न कहीं
कहिले न कहिले
यस्तो भेट हुन्छ
जसलाई प्रेम नगरी म रहनै सक्दिन
दिनदिनै बढ्दै गइरहेछ मेरो यो– प्रेमरोग
भ्रमको एउटा बलियो जराले पक्रिएर
यस्तो भ्रम
कि
एकदिन उसले मलाई
स्वर्ग पुरयाउनेछ!
अनुवाद: गीता त्रिपाठी