एजेन्सी– चीनमा कोरोना भाइरस संक्रमितको उपचारका लागि १० दिनमा निर्मित अस्पताल सोमबारबाट सञ्चालनमा आउने भएको छ। चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस नियन्त्रण चुनौतिको रुपमा देखा परेपछि चीनले संक्रमितको उपचारको लागि छुट्टै अस्पताल निर्माण गरेको हो।
चीनको हुबेई प्रान्तबाट महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट चीनमा मात्रै ३ सय ६१ जनाको ज्यान गएको छ भने १७ हजार मानिस संक्रमित छन्। चीनबाहेक फिलिपिन्समा पनि एक जनाको ज्यान गएको छ।
विश्वका अन्य मुलुकहरुमासमेत भाइरस संक्रिमित भेटिएपछि विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकाल घोषणा गरेको छ। चीनमा बनेको नयाँ अस्पताल १ हजार शैय्याको रहेको छ। संक्रमितको उपचारमा अनुभव हासिल गरिसकेका १४०० सैनिक मेडिकल स्टाफ नयाँ अस्पतालमा आइपुगेका छन्।
यिनैले नयाँ अस्पतालसँगै अन्य क्षेत्रका बिरामीको उपचार गर्नेछन्। त्यस्तै, कोरोना भाइरस संक्रमितको उपचारका लागि दोस्रो अस्पताल पनि द्रुत गतिमा निर्माण भइरहेको छ। बीबीसीका अनुसार, दोस्रो अर्को अस्पतालको निर्माण बुधबारसम्ममा सम्पन्न भइसक्नेछ।