एजेन्सी– बेल्जियन फरवार्ड रोमेलु लुकाकुको दुई गोल सहयोगमा इन्टर मिलान इटालियन सिरी ‘ए’ मा सहज जित निकालेको छ। इन्टरले घरेलु टोली यडिनेसीमाथि २–० को सहज जित निकालेको हो।
लुकाकुले दुवै गोल दोस्रो हाफमा गरेका थिए। घरेलु टोलीले इन्टर मिलानलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोक्न सफल भएपनि दोस्रो हाफमा रोक्न सकेन। खेलको दोस्रो मिनेटमा नै इन्टरका सेवास्टियानो इस्पोसिटोले गोल गर्ने अवसर खेर फालेको थियो। सातौ मिनेटमा क्रिस्टियन इरिक्सनको प्रहारलाई उडिनेसीका गोलरक्षकले विफल पारिदिए।
३०औं मिनेटमा सेवास्टियानो इस्पोसिटोको प्रहारलाई गोलरक्षक जुवान मुसोल उत्कृष्ट बचाउ गर्दा इन्टर अग्रता लिनबाट चुक्यो। ३६औं मिनेटमा इरिक्सनको प्रहार आकासियो। दोस्रो हाफको शुरुमै इन्टरले अग्रता लिने अवसर गुमायो। ५६औं मिनेटमा उडिनेसीका खेलाडीले पेनाल्टीको अपिल गरेपनि रेफ्रीले त्यसलाई वास्ता गरेन। ओकाकालाई इन्टरका खेलाडीले फउल गर्न पुगेका थिए।
घरेलु टोलीमाथि लगातार पोस्ट आक्रमण बुनेको इन्टरले ६४औं मिनेटमा गोलको खडेरी तोड्न सफल भयो। निकोलो बरेलाको पासमा लुकाकुले गोल गर्दै इन्टरलाई अग्रता दिलाए। ६९औं मिनेटमा एलेक्सिस सान्चेजले गोलको अवसर खेर फालेको थियो। लगत्तै इन्टरले पेनाल्टीको मौका पाएको थियो। ७०औं मिनेटमा सान्चेजलाई जुवान मुसोले फउल गरेपछि इन्टरले पेनाल्टीको मौका पाएको थियो। जसलाई लुकाकुले गोल गर्दै इन्टरको अग्रता दोब्बर पारे। त्यसपछि थप गोल निस्कन नसक्दा इन्टर २–० ले विजयी हुन सफल भयो।
जितसँगै इन्टर २२ खेलबाट ५१ अंक जोडेर दोस्रो स्थाना यथावत छ। शीर्षस्थनको युभेन्टसको समान खेलबाटै ५४ अंक छ। पराजित उडिनेसी २४ अंकसहित १५औं स्थानमा छ।
अर्काे खेलमा एसी मिलान १० खेलाडीमा समेटिएको हेलास भेरोनासँग १–१ गोलको बराबरीमा रोकिएको छ। मिलानका हकान कलहानोग्लुले तथा हेलासका मार्काेले गोल गरे। ६८औं मिनेटमा हेलासका सोफयान अम्रावात सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएको थियो। बराबरीपछि मिलान २२ खेलबाट ३२ अंक जोडेर आठौं स्थानमा रहेको छ। हेलास ३० अंक जोडेर नवौं स्थनमा छ।
अन्य नतिजा
ससुलोविरुद्ध रोमा (४–२)
एटलान्टाविरुद्ध जिनोआ (२–२)
लाजियोविरुद्ध एसपाल (५–१)
लिसविरुद्ध टोरिनो (४–०)