बारा –ईलाका प्रहरी कार्यालय सिमराले नलकटुवा पेस्तोलको ६ राउण्ड गोली र हिरा भन्दै ठगी गर्ने चार जनालाई पक्राउ गरेको छ। नियमित गस्तीका क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
हातहतियार, नेटवर्किङ विजनेसका नाममा ठगी गरेका तथा बहुमुल्य पत्थर र लागु औषधसहित पक्राउ परेकाहरुलाई प्रहरीले सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका–११ का ३८ वर्षिय दिपलाल राम, कलैया उपमहानगरपालिका–२६ का फूल सरिक मिया धोवी, अमेलगञ्जबाट पक्राउ परेका निजगढका ३७ वर्षीय मंगल सिंह तामाङ र रौतहटका ६५ वर्षिय गनहर बैठालाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले जानकारी दिए।
नलकटुवा पेस्तोल ६ राउण्ड गोली, चाँदीको भाँडोमा राखिएको नागमणी भन्दै ठगी गर्ने सिसा जस्तो टल्किने वस्तु र नेटवर्किङ विजनेस भन्दै ठगी गर्न जम्मा गरेको १७ जना मानिसहरुको नागरिकताको प्रतिलिपिसहित फोटो, पाँचसय ग्राम अवैध लागु औषध प्रहरीले पक्राउ पर्नेहरुबाट बरामत गरेको प्रहरीले जनाएको छ।