एजेन्सी– इंग्लिस प्रिमियर लिगमा टोटेनहम हस्टपरले म्यानचेस्टर सिटीलाई २–० ले पराजित गरेको छ। टोटेनहमको मैदानमा आइतबार राति भएको खेलमा स्टेभेन बर्गवाइन र ह्युङ मिन सनले गोल गरे।
प्रतिस्पर्धात्मक पहिलो हाफमा सिटीका इकेए गुन्डोगान पेनाल्टीमा चुक्दा पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। सर्जी औरियरले सर्जियो अगुइरोलाई लडाएपछि रेफ्रीले भिएआरका सहायतामा ३८औं मिनेटमा सिटीले पेनाल्टी पाएको थियो। तर, इकेए गुन्डोगानको पेनाल्टी टोटेनहमका गोलरक्षक ह्युगो लोरिसले बचाएका थिए।
६०औं मिनेटमा ओलेक्सन्डर जिनचेन्को दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएको थियो। डेभिडसन सान्चेजलाई फउल गरेपछि रेफ्रीले जिनचेन्कोलाई मैदान बाहिर पठाएको थियो। सिटी १० खेलाडीमा समेटिएको फाइदा टोटेनहमले उठायो। ६३औं मिनेटमा बर्गवाइनले लुकास मौउराको पासमा टोटेनहमका लागि ‘डेब्यु’ गोल गर्दै टोटेनहमलाई अग्रता दिलाए।
७१औं मिनेटमा ह्युङ मिन सनले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे। उनले टंगे एनडोम्बेलेको पासमा गोल गर्न सफल भएको थियो। त्यसपछि थप गोल निस्कन नसक्दा सिटी टोटेनहमसँग २–० ले स्तब्ध बन्न पुग्यो। हारपछि सिटीको उपाधि सम्भावना झिनो बनेको छ। हारपछि सिटी शीर्षस्थानको लिभरपुलसँग २२ अंकले पछि परेको छ। सिटीको ५१ तथा लिभरपुलको ७३ अंक छ।
सिटीलाई पराजित गरेको टोटेनहम ३७ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ। अर्काे खेलमा आर्सनल बर्नलीसँग गोलरहित बराबरीमा खेल्दै अंक बाडेको छ।