काठमाडौं – उपभोक्ताहरू मारमा परेका छन्। अहिले बजारमा कुखुराको मासु र लसुनको मूल्य आकासिएको छ। हाल बजारमा कुखुराको मासुको मूल्य प्रतिकेजी ४ सय ५ रूपैयाँभन्दा माथि पुगेको छ।
एक महिनासम्म ह्याचरी व्यवसायीहरूले गरेको हड्तालका कारण बजारमा मासुको मूल्य आकासिएको हो। एक महिनाअघि प्रतिकेजी २ सय ५० रूपैयाँमा किनबेच भइरहेको मासु अहिले ४ सय ५ रूपैयाँ नाघेको हाे।
नेपाल ह्याचरी उद्योग संघले मासुको मूल्य बढाउने लक्ष्यसहित १० दिने हड्ताल गरेको थियो। ३० लाख चल्ला नष्ट गरेको थियो। २९ मंसीरदेखि ८ पुससम्म गरेको देशव्यापी हड्तालमा व्यवसायीहरूले ४५ करोड मूल्य बराबरको अण्डासमेत नष्ट गरेका थिए।
लसुन प्रतिकेजी ५ सय
बजारमा आकासिएको प्याजको मूल्य घटिरहेको बेला लसुनको मूल्य आकासिएको छ। चीनबाट आयात हुने लसुन प्रतिकेजी ५ सय रुपैयाँ पुगेको छ। चिनियाँ लसुनको मूल्य बजारमा ५ सय रूपैयाँ प्रतिकेजी पुगेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जानकारी दिएका छन्।
अहिलेसम्मकै लसुनको प्रतिकेजी ५ सय रूपैयाँ उच्च मूल्य हो। लसुनको मूल्य दुई साताअघिसम्म प्रतिकेजी २ सय ५० देखि ३ सय रूपैयाँ आसपास रहेको थियो। चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी बन्द हुँदा लसुनको मूल्य बढेको बताउँछन्।
नाका बन्दको कारणले लसुन आयात गर्न नसकिएको व्यवसायीको भनाइ छ। लगातारको हिमपातका कारण रसुवा नाका चीनमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण केही दिनका लागि बन्द गरिएको छ।