काठमाडौं – चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरसले महामारीको रुप लिएपछि रोकथामको प्रयास स्वरुप नेपाल–चीन हवाई सेवा पनि बन्द गरिएको छ।
नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीको अनुसार चीनवाट दैनिक नेपाल आउने चार वायु सेवा कम्पनीहरुले उडान स्थगित गर्ने सूचना आएको हो।चिनियाँ एयरलाइन्सले करिब एक महिनाका लागि भन्दै उडान स्थगनको जानकारी गराएका छन्। त्रिभुवन विमानस्थल कार्यालयका अनुसार काठमाडौंबाट दैनिक उडान गर्दै आएका चार वायुसेवा कम्पनीले पनि उडान स्थगितको सूचना दिएका छन्।
दैनिक एक उडान गर्दै आएको एयर चाइनाले फेब्रवरी ४ देखि २९ तारिक सम्म, चाइना स्टर्न एयरलाइन्सले ६ फेब्रवरीदेखि २८ तारिक सम्म उडान बन्द गर्ने सूचना पठाइसकेका छन्।
सिचुवान र तीब्बत एयरलाइन्सले पनि टिकट बुकिङ नगर्न ट्राभल एजेन्सीहरुलाई सूचित गरेका छन। कोरना भाइरसकै कारण फेब्रुअरी एक देखी हिमालय एयरलाइन्सले चीनका तीन सहरमा उडान स्थगित गरिसकेको छ। फेब्रवरी ६ देखी बेइजिङ उडान समेत स्थगनको घोषणा गरेको छ।
अन्य विदेशी एयरलाइन्सले उडान स्थगित गरेसँगै त्यसको प्रभाव नेपालमा पनि पर्ने देखिएको छ। यद्यपी नेपाल सरकारकातर्फबाट चीन हुने हवाई उडान स्थगित वा रद्दको कुनै निर्णय नगरेको प्राधिकरणका प्रवक्ता क्षेत्रीले जनाए।