एजेन्सी– चीनको हुबेई प्रान्तको वुहान सहरबाट फैलिएको कोरोना भाइरसबाट संक्रमित भएकी एक बिरामीलाई सफलतापूर्वक निको पारेको थाईल्याण्डका चिकित्सकले बताएका छन्। हाल नै बजारमा प्रयोग भइरहेको विभिन्न भाइरसको उपलब्धऔषधीलाई मिसाएर खान दिदाँ बिरामी निको भएको उनीहरुले दाबी गरेका छन्।
बैंककस्थित राजाभिथी अस्पतालका चिकित्सक डा.क्रियाङसक एतीपोर्नवानिचले अस्पतालमा उपचार गर्न चीनबाट आएकी एक ७१ वर्षे महिला भाइरसमुक्त भएको जानकारी दिए। उनको अनुसार ती किरामी महिलालाई एचआईभीको उपचारमा प्रयोग हुने औषधी र फ्लू हुदाँ खाइने औषधिको मिश्रण दिइएको थियो।
‘म अत्यन्त जटिल अवस्थामा रहेकी बिरामीको उपचारमा संलग्न थिएँ र परिणाम सकारात्मक आएको छ। ४८ घण्टाभित्रै बिरामीको स्वास्थ्य अवस्थामा तिव्र सुधार भएको छ र परीक्षणको परिणाम पनि ४८ घण्टाभित्र पोजिटिभबाट नेगेटिभमा फेरिएको छ,’ डा. क्रियाङसकले भने।
अस्पताल प्रशासनले पत्रकार सम्मेलन नै गरेर यो खबर सार्वजनिक गरेको हो। पत्रकार सम्मेलनमा अस्पतालका अधिकारीले निको भएको बिरामीको स्वास प्रणालीमा अहिले कुनै भाइरस नदेखिएको बताए। उता, बेइजिङका अस्पतालहरुले केही बिरामीलाई एचआईभी उपचारमा प्रयोग हुने औषधी दिएर निगरानी गरिरहेका थियो। तर यसकाे परिणाम बाहिर आएको छैन।