एजेन्सी– भेनिसमा भेटिएको दोस्रो विश्वयुद्धको बमलाई निष्क्रिय पारिएको छ। यसलाई आइतबार हटाइएको हो। बमलाई डिफ्युज गरेर समुद्रमा बगाइएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्। बमलाई निष्क्रिय पार्ने क्रममा शहरका ३५०० नागरिकलाई सुरक्षित स्थानमा सारिएको थियो।
अधिकारीहरुले बम डिफ्युज र हटाउने क्रममा बोट, ट्रेन र बस सेवा रोकेका थिए। मार्कोपोलो विमानस्थलमा उडान पनि ४ घण्टाको लागि स्थगित गरिएको थियो। सीवर लाइनको मर्मतको लागि जमिन खन्दा यो बम भेटिएको हो। यसको तौल २ सय २५ किलो थियो र यसमा करिब १२९ किलो बारुद भरिएको थियो।
बम हटाउने काममा खटिएको सैनिक टोलीका कमाण्डर गियालुसा मोनेकोका अनुसार बम विष्फोट हुने जोखिम भएकोले सावधानी अपनाउनु जरुरी थियो। बम धेरै पुरानो थियो तर विष्फोट हुन सक्थ्यो। यसलाई जहाजबाट समुद्रमा लैजाने काममा पनि खतरा थियो। आइतबार बिहान २ चरणमा अपरेशन चलाइएको थियो। पहिलो चरणमा आसपासका सबै नागरिकलाई सुरक्षित स्थानमा सारिएको थियो। दोस्रो चरणमा बम डिफ्युज गर्ने र हटाउने काम गरियो।