काठमाडौं– कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबारको पहिलो खेलमा जावलाखेल युवा क्लबले ब्रिगेड ब्वाइज क्लबलाई १–० ले पराजित गरेको छ।
जावलाखेलको जितमा सुजित बुढाथोकीले ३२ औं मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो। बिबिसीका गोलरक्षक विशाल सुनार पोजिसनमा नरहेको अवस्थामा सुजितले गरेको प्रहार गोलमा परिणत भएको थियो। त्यसअघि विशालले नै जावलाखेललाई अग्रता लिनबाट बन्चित गरेका थिए। उनले १७ औं मिनेटमा फोडे फोफाना र त्यसको तीन मिनेटपछि ड्याडी वाम्बा जुनियरको प्रहारलाई विफल पारेका थिए।
पहिलो हाफमा केहि आक्रमण बनेको बिबिसीले दोस्रो हाफमा पनि केहि अवसर पाएको थियो। अनिल गुरुङको क्रसमा सुलभ मास्केको हाफ भली प्रहारलाई गोलरक्षक अरुण ब्लोनले उत्कृष्ट बचाउ गरे। खेलको अन्त्यतिर रोशन रानाको प्रहारलाई अरुणले बचाएपछि जावलाखेल जितउन्मुख देखिएको थियो।
यस जितसँगै जावलाखेल १० खेलमा ४ जित, ३ बराबरी र ३ हारसहित १५ अंक जोड्दै सातौं स्थानमा उक्लिएको छ। यता बिबिसी भने १० खेलमा ८ अंक जोड्दै ११ औं स्थानमा छ।