एजेन्सी– गुगलले ‘गुगल ट्रान्सलेट’ मा नयाँ फिचर थप गर्ने तयारी गरेको छ। कम्पनीले बोलेका कुरालाई तत्कालै अनुवाद गर्न मिल्ने सुविधा ल्याउन लागेको हो।
यो सुविधा थप भएसँगै कुनै पनि प्रयोगकर्ताले अरुले बोलेको कुरा तत्कालै सहज रुपमा पढ्न सक्नेछन्। यति मात्र नभई अन्य भाषामा बोलिएका कुरालाई आफ्नो भाषामा अनुवाद गरि तत्कालै पढ्न समेत सकिनेछ। हाल यो परियोजना सुरुवाती चरणमा रहेको कम्पनीले जनाएको छ।
अघिल्लो मंगलबार कम्पनीको कार्यलयमा भएको आर्टिफिसियल इन्टेलिजेन्स डेमोका क्रममा गुगलले यो योजनको विषयमा जानकारी दिएको हो। हाल गुगल ट्रान्सलेटमार्फत लेखिएका कुरालाई विभिन्न भाषामा अनुवाद गर्न सकिन्छ।
गुगलको नयाँ परियोजना आएको खण्डमा भने बोलेका कुरालाई समेत विभिन्न भाषामा अनुवाद गर्न सकिने छ। गुगलका अनुसार पहिलो चरणमा यो एन्ड्रोइड भर्सनमा उपलब्ध हुनेछ। तर, यो प्रयोग गर्नका लागि इन्टरनेट कनेक्सन भने आवश्यक हुनेछ।