खाँदबारी – गर्भवती र सुत्केरीको सुविधाका लागि खाँदबारी नगरपालिकाले निःशुल्क एम्बुलेन्स र पौष्टिक आहार प्रदान गर्ने भएको छ। नगरपालिकाले महिला र नवजात शिशुको संवेदनशीलतालाई दृष्टिगत गरेर बर्थिङ सेन्टरमा सुत्केरी गराउनेलाई निःशुल्क एम्बुलेन्स तथा पौष्टिक आहार प्रदान गर्ने भएको छ।
आमा र बच्चालाई स्वास्थ्य र कुपोषित हुनबाट बचाउन बर्थिङ सेन्टरमा नै सुत्केरी गराउन प्रोत्साहन गर्ने उद्देश्यले ‘बाल पोषण पोको कार्यक्रम’ ल्याएको नगरप्रमुख मुरारी खतिवडाले जानकारी दिएका छन्। बर्थिङ सेन्टरमा सुत्केरी गराउन आउने नगरपालिकाभित्रका आमालाई बाल पोषण पोको कार्यक्रमअन्तर्गत एकमुष्ट रुपमा नगद तीन हजार उपलब्ध गराइने प्रमुख खतिवडाले बताएका छन्।
उनले भने, ‘बालबालिका र आमालाई आवश्यक पर्ने पोषणयुक्त खानेकुरा खरिद गर्ने सहयोग पु्या्उने उद्देश्यका साथ आव २०७६–७७ को नीति नगर परिषद्ले पारित गरेको छ।’ बाल पोषण पोका कार्यक्रमले बर्थिङ सेन्टरमा नै सुत्केरी गराउन आउनेको सङ्ख्या बढ्ने अपेक्षा गरिएको छ। सुरक्षित प्रसूति सेवा गराउनेलाई निःशुल्क एम्बुलेन्स सेवाको पनि व्यवस्था गरेको नगरप्रमुख मुरारी खतिवडाले जानकारी दिएका छन्।
आमा र बच्चा दुवै ज्यान सुरक्षित बनाउन सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरिएको उनको भनाइ छ। नगरपालिकाले नगरभित्र बसोबास गर्न गर्भवती भएका आमालाई बर्थिङ सेन्टरसम्म पुया्उनका लागि निःशुल्क एम्बुलेन्ससमेत प्रदान गरिएको प्रमुख खतिवडाको भनाइ छ। खाँदबारी नगरपालिकाभित्र जिल्ला अस्पतालसहित अन्य तीनवटा बर्थिङ सेन्टरहरु भए पनि जिल्ला अस्पतालमा मात्र दक्ष चिकित्सक उपलब्ध छन्।
नगरभित्र तुम्लिङटार, सेकाहा र शीतलपाटीमा बर्थिङ सेन्टर छन्। सडक सञ्जाल जोडिएका जुनसुकै स्थानका गर्भवतीलाई नगरपालिकाकै एम्बुलेन्स निःशुल्क सेवा प्रदान गर्न कार्यविधिसमेत बनाइएको छ। नगरपालिकाको एम्बुलेन्स उपलब्ध नभएको ठाउँमा अन्य जो कोहीको एम्बुलेन्स प्रयोग गर्न सक्ने र त्यसको बिल भर्पाई नगरपालिकालाई बुझाएपछि उक्त खर्चबापतको भुक्तानी नगरपालिकाले व्यहोर्नेसमेत नगरप्रमुख खतिवडाले बताए।
उक्त सेवा र सुविधा लिनका लागि बच्चाको जन्मदर्ता गराउन जाँदा स्वीकृत बर्थिङ सेन्टर वा अस्पतालमै बच्चा जन्माएको प्रमाणपत्र र बर्थिङ सेन्टर आउँदाको एम्बुलेन्सको बिल भर्पाई लिएर जानुपर्ने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ। यो कार्यक्रमका लागि चालू आवमा रु ६ लाख बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ।(रासस)