काठमाडौ– नेपालले चीनलाई १२ हजार मास्क सहयोग गरेकाे छ। नेपाल-चीन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीले चाइना तिब्बत चेम्बर अफ बोर्डर ट्रेडमार्फत उक्त सहयोग गरेको हो।
चीनमा फैलिएको नोबल कोरोना भाइरसकाे सुरक्षाका लागि मास्कको माग बढ्दो छ। चीनमा मास्क अभाव भएपछि सहयोग गरिएको संस्थाले जनाएको छ। नेपाल–चीन चेम्बर संग संघले २०१४ मा एक समझदारी पत्रमा हस्ताक्षर गरी विभिन्न आर्थिक, व्यापारिक, पर्यटन, लगानी आदिको प्रवर्द्धनका लागि सहकार्य गर्दै आइरहेको जनाएको छ।
चीनमा कोरोना भाइरसले महामारीको रुप लिएपछि अहिले त्यहाँ मास्क अभाव भएको छ। चीनको हुवेई प्रान्तबाट शुरु भएको कोरोना भाइरस अहिले देशका सबै राज्यमा देखिइसकेको छ। संकटको अवस्थामा केही भए पनि राहत हुने उद्देश्यले नेपालबाट पनि मास्क पठाउन थालिएको हो।
कोरोनाको महामारीपछि चीनको वुहान लगायतका स्थानमा यात्रा प्रतिबन्धित समेत गरिएको छ भने विभिन्न देशले त्यहाँ रहेका आफ्ना नागरिकलाई स्वदेश लगेको छ। नेपालले पनि त्यहाँ बसोबास गर्ने आफ्ना नागरिकलाई फिर्ता ल्याउने तयारी थालेको छ। चीनले वुहानमा कोरोना संक्रमणको उपचारका लागि १० दिनमा अस्पताल नै बनाएको छ।
कोरोना भाइरसबाट अहिलसम्म १८ हजारभन्दा बढी संक्रमित भइसकेका छन्। यसको ९८ प्रतिशत संक्रमितहरु चीनमा मात्र छन्। काेराेना भाइरसका कारण अहिलेसम्म ३ सय ६२ जनाले ज्यान गुमाइसकेका छन्।