काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले यसै आर्थिक वर्षभित्र नेपाल टेलिभिजनको अङ्ग्रेजी विश्व च्यानल सुरु गर्ने घोषणा गरेका छन्।
टेलिभिजनको ३५औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले राष्ट्रको छवि माथि उठ्ने नयाँ कामका रुपमा सो परियोजनालाई लिएर आगामी ६ महिनाभित्र ‘एनटिभी वर्ड’ शुभारम्भको तयारी गर्न व्यवस्थापनलाई निर्देशन दिए।
उनले त्यसका लागि सरकारले बजेट र आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। टेलिभिजनको हाल पाँचवटा च्यानल प्रसारण भइरहेका छन्। मन्त्री बाँस्कोटाले सरकारी सञ्चारमाध्यम जनता र राज्यको माध्यम तथा सम्पत्ति भएको उल्लेख गर्दै मुलुकको आधिकारिक सूचना र भिडियोलाई विदेशीले हेर्नुपर्दा नेपाल
टेलिभिजनबाट हेर्नुपर्ने गरी उक्त नयाँ च्यानलबाट हेर्ने गरी सङ्कल्प लिनु अत्यावश्यक भएको बताए। ‘यी संस्था जनता र राज्यका सम्पत्ति हुन्। यसलाई हेर्ने आँखा बदलिनुपर्छ,’ उनले भने, ’यही हाम्रा देशका केही धरोहरभित्र पर्छन्। घोषणा र तयारी गरेपछि सबै कुरा सम्भव छ। न्यायपूर्ण समाजको परिकल्पना वा समृद्ध नेपाल, सुखी नेपालीको सङ्कल्प पूरा गर्न सम्भव छ।’ रासस