काठमाडौं– स्वावलम्वन जीवन पद्दति केन्द्रले अपाङ्गता भएका व्यक्तिलाई ह्वीलचियर वितरण गरेको छ। केन्द्रले सोमबार एक कार्यक्रम आयोजना गरी नेपालमै बनेका आल्मुनियमका १० ह्वीलचियर वितरण गरेको हो।
नेपाल बङ्गलादेश बैंकको आर्थिक सहयोगमा स्वदेशमा बनेका हलुका (१० किलो तौल भएका) ह्वीलचियर निर्माण गरी वितरण गरिएको हो। केन्द्रका अध्यक्ष टेकबहादुर गुरुङले विगत वर्षहरुमा सरकारको आर्थिक सहयोगमा वितरण गर्दै आए पनि यसपटक बैंकको सहयोगमा स्वदेशमा ह्वीलचियर निर्माण गरी वितरण गरिएको जानकारी दिएका छन्।
नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभुषण श्रेष्ठले बैंकले आफ्नो सामाजिक दायित्वअन्तर्गत सहयोग गरेको बताएका छन्। केन्द्रले हालसम्म लगभग २०० ह्वीलचियर बनाई निःशुल्क वितरण गरिसकेको अध्यक्ष गुरुङले जानकारी दिएका छन्। केन्द्रले बालाजु स्कूल अफ इञ्जिनीयरिङ एण्ड टेक्नोलोजीको हाताभित्र ह्वीलचियर निर्माण गर्न वर्कशप स्थापना गरेको छ। (रासस)