सर्लाही– पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही जिल्लाको तीन इलाका प्रहरी कार्यलयमा प्रहरी निरीक्षक नहुँदा मुचुल्का हस्ताक्षरमा समस्या परेको छ।
इलाका प्रहरी कार्यालय लालबन्दी,हरिवन र जिल्ला ट्राफिक प्रहरी कार्यलय नवलपुरमा प्रहरी निरीक्षक नहुँदा सर्वसाधारणलाई समस्या परेको हो। ती तीनै कार्यालयमा प्रहरी निरीक्षकको दरबन्दी रहेको छ।
इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक नारायण थापा तालीम, जिल्ला ट्राफिक प्रहरी कार्यलय नवलपुरका प्रहरी निरीक्षक सूर्यनारायण यादव घर बिदा र इलाका प्रहरी कार्यलय हरिवनका प्रहरी निरीक्षक सुवास भट्टराई काजमा सरुवा भएको बताइएको छ।
जिल्लाका पूर्वपश्चिम राजमार्ग प्रहरी अधिकृत विहीन बनेको छ। अहिले कुनै मुचुल्कामा हस्ताक्षर गर्नुपर्दा इलाका प्रहरी कार्यलय हरिपुरका प्रहरी निरीक्षक पुग्नुपर्ने बाध्यता सिर्जना भएको छ। दुर्घटना सहित आत्महत्यालगायतका मुचुल्कामा हस्ताक्षर ढिलो हुने गरेको एक प्रहरी कर्माचारीले बताएका छन्।
केही समस्या हुँदा अर्काे स्थानबाट भए पनि प्रहरी निरीक्षकको व्यवस्था गरेर काम गरेको सर्लाहीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिएका छन्। (रासस)