एजेन्सी – स्किल देखाएकै कारण पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिली स्टार फरवार्ड नेयमारले पहेंलो कार्ड पाएका छन्। शनिबार राति फ्रेन्च लिग वान दौरान मोन्टपिलिएरविरुद्धको खेलमा स्किल देखाएकै आधारमा रेफ्री जिरोम ब्रिसार्डले नेयमारलाई पहेंलो कार्ड देखाएका थिए।
खेलको ३७औं मिनेटमा नेयमारले मोन्टपिलिएरका दुई डिफेन्डरबीचबाट ड्रिब्लिङ (रेन्वो फ्लिक) गर्दै बल अघि बढाउने प्रयास गरेका थिए। त्यही बलमा रेफ्रीले नेयमारको त्यो स्किलमा असमहति जनाएका थिए। रेफ्रीको निर्णयमा असन्तुष्टि पोखेपछि रेफ्रीले नेयमारलाई पहेँलो कार्ड देखाए।
त्यसपछि पनि खेल विवादिन रहन सकेन। सँगै रहेका मार्काे भेराट्टीलाई नेयमारले भने, ‘म फुटबल खेल्छु। उसले मलाई पहेँलो कार्ड देखाउछ। उसलाई भनिदिनु यो पहेँलो कार्ड हुन सक्दैन।’
रेफ्रीले फ्रेन्च भाषामा नेयमारलाई शान्त हुन आग्रह गर्दै खेललाई निरन्तरता दिए। खेलभर नै मोन्टपिलिएरका खेलाडीले नेयमारलाई निशाना बनाइराखे। खेल सकिएपछि पनि नेयमारले रेफ्रीसँग आफ्नो कुरा राखेका थिए।
त्यसपछि पनि स्टार फरवार्ड नेयमारले खेलमा आफ्नो छाप छोड्न सफल भए। उनले सामाजिक सन्जाल इन्स्टाग्राममा रेफ्रीको निर्णयमा व्यङ्ग्य गर्दै ‘म फुटबल मात्रै खेल्छु।’ भनेर पोस्ट गरेका छन्।
फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको पीएसजीले उक्त खेल ५–० ले जित्न सफल भएको थियो। पाब्लो साराबिया, एन्जल डि मारिया, केलियन एमबाप्पे र लेभिन कुर्जावाले गोल गर्दा एक गोल उपहार पाएको थियो। पीएसजी २२ खेलबाट ५५ अंक जोडेर शीर्षस्थानमा रहेको छ।