एजेन्सी – हङकङमा पहिलो पटक कोरोना भाइरसबाट संक्रमित एक जनाको मृत्यु भएको छ। हङकङको क्वाइ चुङमा रहेको प्रिन्सेस मार्गरेट अस्पतालमा उपचाररत रहेकी ३९ वर्षीय उनको मङ्गलबार बिहान हृदयघातका कारण भएको साउथ चाइना मर्निङ पोष्टले तीनवटा स्रोतको हवाला दिँदै समाचार प्रकाशित गरेकाे छ।
चीनको वुहान सहरबाट फैलिएको यस खतरनाक भाइरसबाट संक्रमित हुने उनी हङकङका १३ औँ बिरामी थिए। उनी गत जनवरी २१ मा हुबेईको वुहान पुगेर दुई दिनपछि ग्वानझाओ–सेन्जेन–हङकङ एक्सप्रेस रेलमार्गबाट हङकङ फर्किएका थिए।
उनलाई जनवरी ३१ बाट ज्वरो आउन सुरु भएको थियो। उनलाई सोही दिन याउ मा तेइमा रहेको क्वीन एलिजावेथ अस्पतालमा भर्ना गरिएको थियो। चीनबाहिर यस भाइरसबाट संक्रमित बिरामीले ज्यान गुमाएको यो दोस्रो घटना हो। यसअघि फिलिपिन्समा कोरोनाभाइरस संक्रमित बिरामीले ज्यान गुमाएका थिए।
उता, सोमबारसम्म चीनमा यस रोगबाट ज्यान गुमाउनेको सङ्ख्या ४ सय २५ पुगेको छ। सोमबार मात्र थप ६४ जनाले यस भाइरसको संक्रमणबाट ज्यान गुमाएका थिए। यस भाइरसबाट संक्रमित हुनेको सङ्ख्या २० हजार ४ सय ३८ पुगेको छ। यो भाइरसको संक्रमण दुई दर्जन बढी देशमा फैलिसकेको छ। चीनबाहिर १ सय ५० जनाभन्दा बढीमा यस भाइरसको संक्रमण देखिएको छ।