एजेन्सी– जापानमा एउटा क्रुजमा हङकङका एक व्यक्तिमा कोरोना भाइरस देखा परेपछि क्रुजलाई बन्दरगाहमा नै छोडिएको छ। डायमन्ड प्रिन्सेज क्रुजमा २५ सय यात्री र एक हजार क्रु मेम्बर्स छन्।
कोरोना भाइरस फैलिने डरले अधिकारीले जहाजलाई बन्दरगाहमा नै अलग्गै स्थानमा राख्ने निर्णय लिएका हुन्। संक्रमण रोक्नका लागि सावधानीस्वरुप सबैलाई क्रुजभित्रकै आफ्नो कोठामा बस्ने सल्लाह दिइएको छ।
जापान सरकारका प्रवक्ता योशिहिदे सुगाले सोमबार पत्रकार सम्मेलनमा डाक्टरलाई जहाजभित्रका यात्रीको उपचारका लागि पठाइएको जानकारी दिए। जहाजभित्रका कति व्यक्ति संक्रमित छन् भनेर परीक्षण गरेपछि मात्रै जहाज खाली गरिने उनले बताए।
उनका अनुसार हङकङबाट २५ जनवरीमा जहाजमा सवार भएका ८० वर्षका यात्रीको स्वास्थ्य परीक्षण रिपोर्टमा कोरोना भाइरस पोजिटिभ भेटिएको हो। यस्तोमा अन्य यात्री पनि कोरोना भाइरसबाट संक्रमित भएकाे हुन सक्ने खतरा छ। जापानमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका २० घटना सार्वजनिक भइसकेका छन्।
जापानले हुबेईमा बसेका विदेशीलाई भिसा दिएन
शनिबारदेखि नै जापानले हुबेईमा बसेका विदेशी नागरिकलाई भिसा दिन बन्द गरेको छ। अर्थात्, हुबेईमा बसेकाहरु केही समयका लागि जापान जान सक्दैनन्।
सरकारका अनुसार अहिलेसम्म ८ विदेशी नागरिकलाई जापान आउनबाट रोकिएको छ। जापानले अहिलेसम्म करिब पाँच सय नागरिकलाई बुहानबाट उपचारका लागि देश फिर्ता गरेको छ।