खलङ्गा - निर्माण भएको पाँच वर्ष पूरा भए पनि जुम्लाको बसपार्क सञ्चालनमा नआउँदा यात्रुलाई सास्ती भएको छ। पटकपटक छलफल गर्दा पनि बसपार्क सञ्चालनको विषय टुङ्गो नलाग्दा यातायात व्यवसायी र सर्वसाधारण समस्यामा छन्।
चन्दननाथ नगरपालिका, प्रशासन, ट्राफिक कार्यालयले यातायात व्यवसायीलाई बसपार्कबाटै सवारी छुटाउन आग्रह गरे पनि यातायात व्यवसायीले अटेरी गर्दा सञ्चालनमा नआएको ट्राफिक कार्यालय जुम्लाले जनाएको छ। नयाँ बसपार्क सञ्चालन नहुँदा मनपरी भाडा असुल्ने, बजारका कुनाकुनामा काउन्टर खोल्नेदेखि दुर्घटनाको जोखिम बढेको छ।
नयाँ बसपार्क सञ्चालनमा नआएपछि चन्दननाथ नगरपालिकाले बोलपत्र आह्वान र्गयो। बोलपत्र मुगुको रारा छाँयानाथ यातायात प्रालिले पायो। बोलपत्र पाएको दुई महिनाभन्दा बढी भइसक्दा पनि रारा छाँयानाथ यातायात प्रालिले बसपार्क सञ्चालनमा ल्याउन सकेको छैन। बसपार्कमा पानी, बत्ती, टेलिफोन, बस्ने चौतारी निर्माण नभएसम्म सञ्चालन नगर्ने माग गरेको नगरपालिकाले जनाएको छ। आवश्यक पूर्वाधारका लागि माग आएको र सबै निर्माण गरेपछि सञ्चालनका लागि सम्झौता गरिने चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम देवकोटाले बताए।
कर्णाली यातायात प्रालिका अध्यक्ष मीनबहादुर थापाका अनुसार बसपार्क सञ्चालनको जिम्मा पाएको छाँयानाथ यातायात प्रालि, चन्दननाथ नगरपालिकाले बसपार्क सञ्चालनमा जानी जानी ढिला गरेको आरोप लगाए। खलङ्गा खानेपानी उपभोक्ता समितिका महासचिवसमेत रहेको थापाले बसपार्क सञ्चालन गर्नुहोस्, एक पत्र दिनेबित्तिकै पाँच मिनेटमा पानी र्पुयाइदिन्छु भन्दा पनि वास्ता नगरेको बताए।
यात्रुले सास्ती पाएका छन् दुर्घटना दिनदिनै भएको छ। अध्यक्ष थापाले थपे, यसबारे न त छाँयानाथ यातायात प्रालि गम्भीर छ, न त नगरपालिकाले चासो दिएको छ। केही समय बसपार्क सञ्चालनकै विवादमै समय गयो, बोलपत्र भएर पाएपछि अब बत्ती, टेलिफोन पानीका बहानामा बसपार्क सञ्चालन ढिलाइ भइरहेको उनले बताए।
सुविधासम्पन्न बसपार्क सञ्चालनमा नआउनु नागरिक समाज, नगरपालिका र प्रशासनकै कमजोरी रहेको स्गानीय नर शाहीले बताए। यात्रुलाई सास्ती भएको ठगिएको कसैलाई मतलब छैन सरोकारवालाकै कमजोरीले बसपार्क सञ्चालनमा नआएको शाहीले बताए।
नयाँ बसपार्क सञ्चालन नहुँदा बजार क्षेत्रमै पार्किङ हुने गरेका छन् सवारीसाधन। यातायात व्यवसायीहरुले आफ्नै अटेरी छोडेका छैनन्। बजारका कुना कुना क्षेत्रमा आफ्ना आफ्ना बस समितिका काउन्टर खोलेर सञ्चालन गर्दै आएका छन्। प्रहरी प्रशासन हेरेरै बसेको छ, नगरपालिका बेखर छ एम्बुलेन्स जाने बाटो छैन नागरिक समाजका संयोजक राजबहादुर महतले दुःख व्यक्त गरे। रासस