काठकाडौं – महिलाहरूको व्यवहारमा कहिलेकाहीँ असामान्य परिवर्तन आउँछ। छिनमै रिसाउने, छिनमै शान्त हुने, कहिले भावनात्मक रूपमा कमजोर हुने हुन्छन्।
त्यस्तै कहिलेकाहीँ जति खाए पनि नअघाउने, कहिले नरूच्ने, घरि पीरो, अमिलो स्वादको चाहना बढ्ने, घरि टाउको दुख्ने, कब्जियत वा पखाला लाग्ने, स–साना कुरामा झिझिने हुन्छन्। यस्तो हुनुको कारण के हो त ? पुरुषको त कुरै छाडौं, कतिपय महिलाहरु पनि अन्जान छन्।
महिलाहरूमा यस्तो हुनु ‘प्रि–मेन्सट्रअल सिन्ड्रम’ हुन सक्छ। यो भनेको रोग होइन, महिनावारीअघि हुने सामान्य प्राकृतिक परिवर्तन हो। महिनावारी हुनुभन्दा एक वा दुई साताअघि देखिने शारीरिक र भावनात्मक परिवर्तनका लक्षणलाई ‘पिएमएस’ भनिन्छ।
अनुहारमा दाग वा डन्डिफोर आउनु, थकाइ लाग्नु, निन्द्रा बिग्रिनु, शरीर दुख्नु, चिडचिडापन बढ्नु र मुड परिवर्तन हुनु महिनावारीअघिका सामान्य लक्षण हुन्। यी लक्षण हरेक महिलामा भिन्न हुन्छन्। सबैलाई हुन्छ भन्ने छैन, तर धेरैजसो महिलामा देखिन्छ।
पिएमएसको कारण
अनुसन्धानकर्ताहरूका अनुसार महिनावारीको बेला महिलाको शरीरमा सेक्स हर्मोन र सेरोटोनिनको मात्रा घटबढ हुन्छ, जसले भावनात्मक र शारीरिक परिवर्तन हुने विश्वास छ। महिलाहरूमा हुने मुख्य सेक्स हर्मोन ‘एस्ट्रोजेन’ र ‘प्रोजेस्टेरोन’ हुन्। यी हर्मोन महिलाको अन्डाशयमा उत्पादन हुन्छन्, जसले प्रजनन् अंगको वृद्धिमा ठूलो भूमिका खेल्छ।
महिनावारी बेला अन्डाशयमा एस्ट्रोजेन र प्रोजेस्टेरोन हर्मोन बढी उत्पादन हुन्छन्। यसले रक्तस्राव अर्थात् महिनावारी सुरु हुन्छ। यसको मतलब, एस्ट्रोजेन र प्रोजेस्टेरोन हर्मोन घट्नेबित्तिकै महिनावारी हुने होइन। हर्मोनको मात्रा घट्नु र महिनावारी हुनुबीच एउटा चरण आउँछ, जब महिलाको शरीरले अन्य समयभन्दा फरक तरिकाले काम गरिरहेको हुन्छ। त्यसैलाई पिएमएस भनिन्छ।
एस्ट्रोजेन हर्मोनको मात्रा घट्दा यसले ‘सेरोटोनिन’ को स्तरमा असर पार्छ। सेरोटोनिन भनेको मस्तिष्कमा हुने एक किसिमको रसायन हो, जसले मान्छेको मुड, सामाजिक व्यवहार, निन्द्रा, भोक, स्मृति, पाचनशक्ति र यौन चाहना नियन्त्रण गर्छ। त्यसैले, जब सेरोटोनिनको मात्रा असन्तुलित हुन्छ, महिलाहरूको भावनात्मक र शारीरिक व्यवहारमा नौलो परिवर्तन आउँछ। यही लक्ष्णलाई पिएमएस नाम दिइएको हो।