नेपालगञ्ज – सिकलसेल एनिमिया रोग थारु समुदायमा प्रमुख स्वास्थ्य समस्याका रुपमा रहेको छ। बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा सिकलसेल एनिमिया रोगीको चाप बढ्दो रहेको छ। सिकलसेल प्रमाणित भएका बिरामीलाई १ लाख बराबरको औषधि र जाँचसेवा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदान गर्दै आएको छ।
नेपालगञ्जका मेडिकल विभाग प्रमुख डा राजन पाण्डेले पुस मसान्तसम्म ७६७ जनाले एक लाख बराबरको उपचार सेवा लिने गरी अस्पतालले सूचीकृत गरेको जानकारी दिए। उनले भने, ‘सिकलसेल एनिमिया रोग वंशाणुगतरूपमा मात्र सर्छ, बेलैमा रोग जाँच गर्नसकेमा बच्न सकिन्छ।’ अस्पतालमा केही समयता बिरामीको चाप बढिरहेको प्रमुख डा पाण्डेले जानकारी दिए।
यो रोगमा जण्डिस हुने, हातखुट्टाको जोर्नी दुख्ने बाथजस्तो हुने भए पनि यो रोग वंशाणुगतबाहेक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन। नेपालगञ्जस्थित भेरी अस्पतालमा मात्रै यसकोे निःशुल्क जाँच गरिँदै आएको छ। अस्पतालमा आउने बिरामीलाई रोगका बारेमा मनोसामाजिक परामर्श र अपनाउनुपर्ने सावधानीका बारेमा जानकारी गरिएको परामर्शदाता तथा स्टाफ नर्स आस्था केसीले जानकारी दिइन्।
उनले भनिन,‘अस्पतालमा आउने सिकलसेलका बिरामीलाई रोगको बारेमा जानकारी दिनुका साथै लक्षण, अवस्था, गर्न हुने र नहुने कुराका बारेमा सम्झाउने गरेका छौँ।’ एकाइ प्रमुख प्रेम सुवेदीले सामाजिक सेवा एकाइअन्तर्गत सञ्चालनमा रहेको विपन्न नागरिक स्वास्थ्य उपचार कोषबाट सिकलसेलका बिरामीले निःशुल्क उपचार गरेकोे जानकारी दिए।