एजेन्सी– चीनमा कोरोना भाइरस सम्बन्धी निगरानीका लागि विभिन्न ग्रामीण तथा शहरी क्षेत्रहरुमा अहिले ड्रोन परिचालन गरिएको छ। चिनियाँ अधिकारीहरुले मास्क नलगाइ हिँडडुल गरिरहेका नागरिकहरुलाई ड्रोनमार्फत निरीक्षण गरि गाली गरिरहेका छन्।
कोरोना भाइरस सुरु भएको वुहान क्षेत्रबाट हजार माइल टाढा, भित्री मंगोलियाको उत्तरी प्रदेशमा सो ड्रोनले दैनिक चक्कर लगाउने गरेको बताइएको छ। चीनमा ४ सय २६ जनाको यसै भाइरसका कारण मृत्यु भइसकेको छ भने २० हजार भन्दा बढी संक्रमित भएको बताइएको छ। दुई दर्जन भन्दा धेरै देशहरुमा फैलिएपछि विश्व स्वास्थ्य संगठनले यसअघि विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको थियो।
हङकङ युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले यसअघि वुहानमा मात्र ७५ हजार भन्दा बढी संक्रमित हुन सक्ने अनुमान लगाएको छ। उक्त शहरमा १ करोड १० लाख मानिसहरु बसोबास गर्दछन्।
यसरी चिनियाँ सेना र सरकारी एजेन्सीहरुले २०१६ देखि नै नागरिकहरुको गतिविधिमाथि नजर राख्न ड्रोनलगायत विभिन्न प्रविधि अपनाउँदै आइरहेका छन्। अहिले उनीहरुले कोरोना भाइरसबारे सबैमा सचेत गराउन यिनै प्रविधिको व्यापक प्रयोग गरिरहेको पाइएको छ।