रामपुर– आजभन्दा करीब दुई दशकअघिसम्म हातमा मादल बनाउने सीप भएका व्यक्तिलाई मादल बनाउने चटारोले फुर्सद नै हुँदैनथ्यो। मादल बनाएरै केहीले जीविका चलाएका पनि थिए। पछिल्लो समय भने हातमा सीप भए पनि मादल बनाउन सिपालु व्यक्तिका दिन भने फुर्स्दिला बनेका छन्।
गाउँमा काठको अभाव, बजारमा छरपस्ट तयारी अवस्थामा आएका मादल भित्रिन थालेपछि मादल बनाउने पुरानो पेशा अहिले सङ्कटमा छ। आजभन्दा १५ वर्षअघि पाल्पास्थित रामपुर नगरपालिका–८ बस्ने ५२ वर्षीय रामबहादुर गन्धर्वले मादल बनाएर राम्रै कमाइ गर्थे। त्यस समय उनलाई मादल बनाउन भ्याइनभ्याई हुन्थ्यो। गाउँघरमा हातले बनाएका मादल खरिद गर्न आउने ग्राहकको दिनहुँ भीड लाग्दथ्यो ।
मादल बनाएर गन्धर्वले परिवारको जीविका चलाउँदै आएकामा पछिल्ला समयमा भने काठको अभावमा पेशा नै सङ्कटमा पर्न गएको बताउछन। ‘पहिला त मादल बनाएर दिन बितेको पत्तो हुँदैनथ्यो, अहिले मादलप्रति खासै आकर्षण पनि छैन, व्यापारमा कमी आउँदा पेशा नै धरापमा छ’, गन्धर्वले भने।
उनले जीवनको तीन दशक समय मादल बनाएरै बिताउनुभयो तर यो पेशा संरक्षणमा स्थानीय तह, विभिन्न सङ्घसंस्था, व्यक्ति कसैबाट पनि सहयोग नभएको उनी गुनासो गर्छन्। ‘गाउँमा कसैले मादल बनाउँदैनन, पुरानो पेशा जोगाउन भनेर निरन्तर लागि परिरहेको छु तर यसको संरक्षणमा कसैले अहिलेसम्म सहयोग गरेका छैनन’, उनले दुःखेसो पोखे। अहिले गाउँघरमा पहिलाजसो काठ पनि पाइँदैन।
मादल बनाउन काठको समस्या परेपछि गन्धर्वले १५ वर्षयता भने पोखराबाट घार खरिद गरेर भए पनि पेशालाई आजसम्म निरन्तरता दिएको छ। काठको व्यवस्था भएमा पेशालाई जोगाउँदै आफूले सक्दासम्म मादल बनाउने गन्धर्वको भनाइ छ। उनले बाउबाजेबाट सीप सिकेर १८ वर्षको उमेरदेखि व्यावसायिक तवरले मादल बनाउन थालेको हो। एउटा मादललाई ‘साइज’ हेरेर रु दुई हजारदेखि चारसम्ममा बिक्री गर्छन।
पछिल्लो समय रामपुरमा बस्ती बढ्दै जाँदा विभिन्न ठाउँठाउँमा पसलहरु खुलेका छन्। बाहिरबाट तयारी अवस्थामा आएका मादलले पसल ढाकेका छन्। त्यसले गर्दा पनि धेरैको आकर्षण पसलमा राखिएका तयारी मादलमा बढ्दो छ। बाहिरबाट बजारमा आएका मादल सस्तो मूल्यमा पाइने भएपछि पनि ग्राहकको अहिले गाउँघरमा हातले कुेँदेर बनाइएका मादलमा ध्यान गएको पाइँदैन।
काठ नपाउँदा पुरानो पेशा जोगाउनै समस्या परेकाले आफूले सीप सिके पनि व्यावसायिकरूपमा अँगाल्न नसकेको गन्धर्वका छोरा बेगबहादुर बताउछन्। ‘हातमा सीप छ तर बजार नभएपछि अन्यत्र पेशा व्यवसाय गर्नैप¥यो, कतैबाट काठको व्यवस्थापन भइदिएमा मादल बनाउने पेशालाई नै अगाडि बढाउने धोको छ’, उनले भने।
अझै पनि केहीले त राम्रो मादल चाहियो भनेर गाउँमै हातले बनाएका मादल खोज्न आउने गरेको उनी बताउछन्। मादल बनाउने पेशा संरक्षणमा कसैको ध्यान नजाँदा पेशा नै धरापमा पर्न थालेको छ । मादल बनाउने पेशा संरक्षण गर्न आवश्यक सामग्री सहयोगका लागि अहिलेसम्म वडा कार्यालयमा माग नआएको नगरपालिका–८ का अध्यक्ष बोमबहादुर नामजाली बताउछन्।
‘सम्बन्धित पेशामा आबद्ध व्यक्तिले मादल बनाउने पेशालाई जोगाउँदै यसैबाट आयआर्जन गर्न वडा कार्यालयमा आवश्यक सहयोग माग गरेमा वडा कार्यालयले सहयोग गर्नेछ’, वडा अध्यक्ष नामजालीले भने। (रासस)